काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेकयबाट हुने सुधारबारे स्पष्ट हुन सांसदहरुसँग आग्रह गरेका छन्।
उनले आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठमा सांसदहरुसामु विधेयक संशोधनपछि बैंकिङ क्षेत्रमा सुधार हुने भन्दै यसमा प्रष्ट हुन आग्रह गरेका हुन्।
‘बाफिया संशोधनले कहाँ लैजान्छ भन्ने स्पष्ट हुनुहाेला माननीयज्यू। हामी स्पष्ट छाैं,’ उनले भने।
गभर्नर पौडेलले अर्थतन्त्र सुधारको नेतृत्व राष्ट्र बैंक नभइ अर्थ मन्त्रालयले गर्नुपर्ने बताए। ‘जतिखेर फिस्कल पाेलिसीले लिड लिन्छ त्यहाँ माैद्रिक नीतिले कदममा कदम लिने हाे। अर्थतन्त्रको लिड फिस्कल पाेलिसीले गर्ने हाे,’ उनले भने।
उनले बैंकमा थुप्रिएको पैसा कुन क्षेत्रमा लगानी गर्ने भन्नेमा सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताए।
‘हामीले बैंकलाई एसएमई, कृषिमा पैसा यति लगानी गर भनेकै छाैं। जीडीपी र मूल्यवृद्धिकाे कुरा मात्रै गर्दा फेरि केही मानिसकाे हातमा ऋण जान्छ। पैसा युज नभएर बसेकाे छ। त्यसलाई सरकारले वित्त नीतिबाट उर्जा क्षेत्रमा गरे जस्ताे यातायात, टनेलमा गर्ने हाे कि। व्यवसाय गर्न नजान्नेलाई जबरजस्ती पैसा दिएर डुब्छ। राज्यले लगानीकाे अवसर खाेजिदिनुपर्छ,’ उनले भने, ‘हाइड्रोपावरमा लगानी गर्नेहरू अहिले खुसी नै छन्। त्यसैले केही यस्ता नीति चाहिएकाे छ, जहाँ राज्यले लगानीकाे अवसर खाेजिदिनुपर्छ।’
पौडेलले एसएमई, कृषि र निर्माण क्षेत्रमा प्रवाह भएको ऋण असुलीमा समस्या रहेको बताए। ‘अहिले एसएमई, कृषि र निर्माण क्षेत्रकाे ऋणलाई कसरी ट्र्याकमा ल्याउने भन्ने छ,’ उनले भने।