काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पाैडेलले बैंकहरुको चुक्ता पुँजी धेरै बढेकाले ‘उल्लेख्य स्वामित्व’ एक प्रतिशतमा झार्न प्रस्ताव गरिएको जवाफ दिएका छन्।
उनले आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा चुक्ता पुँजी धेरै बढिसकेको अवस्थामा त्यसको २ प्रतिशत धेरै हुने भएकाले एक प्रतिशतमा झार्न प्रस्ताव गरेको बताएका हुन्।
‘कतिपय माननीयले उल्लेख्य स्वामित्वलाई १ प्रतिशत कायम गर्नुपर्छ भन्नु भएकाे छ। कतिपयले २ प्रतिशत नै ठिकै हाे भन्नुभयो। वाणिज्य बैंकको चुक्ता पुँजी बाफिया आउनुअघि २ अर्ब थियाे। बाफिया आएपछि ८ अर्ब पुर्याइयाे। अहिले ३०/३५ अर्ब रूपैयाँसम्म चुक्ता पुँजी पुगेकाे छ। त्यसैले चुक्ता पुँजीकाे २ प्रतिशत उल्लेख्य सेयर स्वामित्व धेरै हुने भएकाले १ प्रतिशत कायम गर्न प्रस्ताव गरिएकाे हाे,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाकाे सञ्चालक वा उल्लेख्य स्वामित्व भएका व्यक्तिले साेही बैंकबाट ऋण लिन पाउँदैन।’