काठमाडौं। त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकामा सत्तारुढ नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।
कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेले सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि दु:खद भएको बताए।
‘प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनुलाई स्वाभाविक मान्न सकिंदैन,’ महरले आइतबार पार्टी कार्यालयमा संचारकर्मीहरुसँग भने, ‘विश्वविद्यालय प्राज्ञिक थलो हो। प्रधानमन्त्रीले सिनेट अचानक स्थगित गर्न लगाउनुले शिक्षाप्रति सरकार उदासीन रहेको सन्देश गएको छ।’
त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न सिनेट डाकिएको थियो। त्रिविको क्यान्डर अनुसार सिनेट बैठक शुक्रबार नै हुनुपर्ने थियो। तर, ओलीले आफ्नो स्पेन भ्रमणका कारण आइतबारका लागि तय गरेका कारण त्रिविले सदस्यहरुलाई निम्ता समेत गरिसकेको थियो।
त्रिविको सिनेट आइतबारका लागि तय भएकामा उपत्यका बाहिरका क्याम्पसबाट प्रतिनिधित्व गर्ने सदस्यहरु काठमाडौं आइसकेको अवस्थामा ओलीको निर्देशनका कारण रोकिएको छ। ओलीले आफू बेलिब्रिज उद्घाटनका लागि हुम्ला जानुपर्ने कारण देखाएर सिनेट स्थगित गर्न लगाएका हुन्।