BIZMANDU
www.bizmandu.com

एसियन कप पुग्ने निर्णायक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना

२०८२ असार २१

एसियन कप पुग्ने निर्णायक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना
एसियन कप पुग्ने निर्णायक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एएफसी महिला एसियन कप पुग्ने निर्णायक खेल खेल्न लागेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन्।

Tata
GBIME

शनिबार प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट नेपाली महिला टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा नेपाल खेलकुद परिषद्‍ र एन्फाका पदाधिकारीहरू पनि सहभागी थिए।

नेपाली महिला फुटबल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी महिला एसियन कप छनोट अन्तर्गतको समूह ‘एफ’ को खेलमा नेपाल र उज्बेकिस्तान भिड्न लागेका हुन्।

यो समूहमा नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। समूहको शीर्षस्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा पुग्नेछ। लाओस र श्रीलंका यसअघिका दुवै खेलमा पराजित बनेसँग एसिया कपको होडबाट बाहिरिसकेका छन्। यी दुई टोली आज आमनेसामने हुनेछन् तर यो खेल प्रतिस्ठाको लडाइमात्र हुनेछ।

अर्कोतर्फ नेपाल र उज्बेकिस्तान दुवैले आफ्ना पहिला दुई खेलमा प्रभावशाली जित निकालेका थिए। उज्बेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०-० र दोस्रो खेलमा लाओसलाई ७-० गोलले हराएको थियो। अर्कोतर्फ नेपालले पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलअन्तरले हराएको थियो। यी दुवै टोलीले समान १७ गोल गर्दा कुनै गोल ब्यहोरेका छैनन्। दुवैको समान ६ अंक छ।

यो खेल उज्बेकिस्तानस्थित बुन्योदकोर स्टेडियममा बेलुकी ९: १५ बजे सुरु हुनेछ। आजको खेलमा उज्बेकिस्तानको टोलीलाई घरेलु मैदानमा घरेलु समर्थकको साथ रहने छ।

फिफा वरीयतामा उज्बेकिस्तान नेपाल भन्दा बलियो स्थितिमा छ। नेपाल १०० औँ स्थानमा रहँदा उज्बेकिस्तान ५१ औँ स्थानमा छ। हालसम्म तीनपटक यी दुई टोली आमनेसामने हुँदा सबैमा उज्बेकिस्तान नै विजयी छ। समूह चरणमा नेपाली टोलीबाट सबैभन्दा प्रभावशाली प्रदर्शन सावित्रा भण्डारीको छ। पछिल्ला दुई खेलमा नेपाली टोलीको कप्तानी सम्हाल्दै दुवैमा ह्याट्रिक गोल गरेकी उनले ७ गोल गरिसकेकी छिन्। अर्कोतर्फ उज्बेकिस्तानकी निलुफर कुद्रातोबाले ६ गोल गरेकी छिन्।