काठमाडौं । सरकारले नेपालमा आउने नयाँ जुनसुकै सवारीसाधन हाम्रा सडकमा चलाउन कत्तिको उपयुक्त छन् भन्ने टेकुमा रहेको भेहिकल फिटनेस टेष्ट सेन्टरबाट प्रमाणित गर्छ। यहाँ एउटा मेसिनमार्फत परीक्षण हुन्छ भने अर्को म्यानुअल रुपमा उकालो टेरेन्टमा लगेर गरिन्छ।
यो कार्यालय के हो, यहाँ के-के परीक्षण हुन्छ, कसरी काम गर्छ भन्ने धेरैलाई चासोको विषय छ।
टेकुमा रहेको भीएफटीसीमा सवारी परीक्षण गर्ने इक्विपमेन्ट र दुइटा लेनहरु छन्। एउटा मिड साइज र अर्को सानो साइजका गाडीहरूका लागि। त्यहाँ ब्रेक टेस्ट, हेडलाइट टेस्ट, साइड स्लिप टेस्ट जस्ता परीक्षणहरू हुन्छन्। यहाँ च्यासिस डायनामोमिटर पनि छ, जुन गाडी परीक्षण गर्ने एउटा उत्कृष्ट मेसिनका रुपमा लिइन्छ। तर इन्जिन डाइनामोमिटर भने यो केन्द्रमा छैन।
यसमा भएको रोलरले सडकको अवस्थालाई सिमुलेट गर्छ। चाहे त्यो प्लेन सडक होस् वा उकालो, यसले गाडीको प्रदर्शन कस्तो हुन्छ भनेर देखाउँछ। यसले गाडीको रियालिटी कन्डिसनहरु इनपुट गरेर परीक्षण गर्न सक्छ। च्यासिस डायनामोमिटरले मुख्यतया गाडीको व्हिलमा आउने टर्क र पावर नाप्छ। ह्वीलमा कति पावर छ भन्ने थाहा पाएपछि, कति पावर लस हुन्छ भन्ने आधारमा इन्जिन वा मोटरको पावर अनुमान गरिन्छ।
सवारी परीक्षण कार्यालयमा कार्यालय प्रमुखको रुपमा काम गरिरहेका सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठका अनुसार यो केन्द्रमा विद्युतीय र पेट्रोल सवारीसाधनको टेस्टिङ छुट्टाछुट्टै छैन।
‘यो मेसिनमा डिजेल वा पेट्रोल गाडी भनेर इनपुट दिन मिल्छ, तर इलेक्ट्रिक गाडीको लागि छुट्टै अप्सन छैन। यद्यपि, इलेक्ट्रिक गाडी पनि यसमा टेस्ट गर्न सकिन्छ,’ उनले भने, ‘हाल, प्रि-रेजिस्ट्रेसन र रोड वर्दिनेस टेस्ट इलेक्ट्रिक गाडीहरुको लागि गरिन्छ, जुन नयाँ मोडल दर्ता गर्नुअघि अनिवार्य गरिएको छ। यसले गाडीको पावरको अनुमान मात्र दिन्छ, ठ्याक्कै कति हो भनेर भन्दैन। ह्वीलमा कति पावर छ देखाउँछ, तर मोटर वा इन्जिनमा कति छ भनेर ठ्याक्कै डिस्प्ले गर्दैन।’
श्रेष्ठका अनुसार यो प्रोग्रामिङको कुरा हो। ह्वीलमा कति पावर आयो, कति लस हुन सक्छ भन्ने आधारमा मोटरको पावर अनुमान गरिन्छ। यो मेसिन एकदम भर्सटाइल छ, यसलाई प्लेन वा इन्क्लाइन दुवै अवस्थामा प्रयोग गरेर विभिन्न ड्राइभ ट्रेन र कन्डिसनहरुमा गाडीको परीक्षण गर्न सकिने उनी बताउँछन्।
उनका अनुसार यहा फोर-ह्वीलर र टु-ह्वीलर दुवै टेस्ट गर्ने डायनामोमिटर छन्। पछिल्लो समय मोटर पावर र किलोवाटको कुरा चलिरहेको छ। तर हाम्रोमा एक्युरेट परीक्षण गर्ने सुविधा न इन्धनको इन्जिनमा गर्न सकिन्छ न विद्युतीयको मोटर पावरमा नै।
‘हामीसँग अहिले भएको मेसिनले सवारीसाधनको पावर यति नै हो भनेर ठ्याक्कै भन्दैन। मोटरकै पावर नाप्नको लागि इन्जिन डायनामोमिटर चाहिन्छ, जसमा मोटरलाई मेसिनमा झिकेर त्यसको आउटपुट सिधै नापिन्छ,’ उनले भने, ‘हाम्रो च्यासिस डायनामोमिटरले चाहि व्हिलको पावर नापेर इन्जिनको पावर अनुमान मात्र गर्छ। नयाँ आउने सबै सवारीहरु यसरी नै टेस्ट हुन्छन्।’
उनका अनुसार इक्विपमेन्टमा टेस्ट गर्ने र कहिलेकाहीँ रिडिङ एक्ज्याक्ट नआउँदा रोड टेस्ट पनि गर्ने गरिएको छ।
तर नेपाल आउने सवारीसाधनहरुको इन्जिन र मोटर क्षमता मुख्यतया उत्पादक कम्पनीले दिएका दस्तावेजका आधारमा निर्धारण हुन्छ। ‘अहिले रोड वर्दिनेस टेस्ट पेट्रोल र डिजेल गाडीको लागि गरिँदैन, इलेक्ट्रिक गाडीको लागि मात्र गरिन्छ,’ उनले भने, ‘म्यानुफ्याक्चररले डिक्लेयर गरेको हुन्छ र टेस्ट रिपोर्ट पनि दिएको हुन्छ। हामीले यहाँ नाप्न सक्ने कुरा नाप्छौं, नसक्ने कुरा उनीहरुकै रिपोर्टको आधारमा हुन्छ। जसका कारण हामीसँग चाहिने इक्वीपमेन्ट नहुँदा म्यानुफ्याक्चररले पठाएको रिपोर्टकै आधारमा हामीले यहाँ प्रमाणीकरण गर्छौं।’
श्रेष्ठका अनुसार अहिले भइरहेको टेस्टिङ मेथडमा धेरै कुराहरु थप्न सकिन्छ, जस्तै मोटरको पावर कसरी नाप्ने, गाडीको तौल नाप्ने, ब्याट्रीको क्षमता नाप्ने। ‘तर हाल हामीकहाँ यी सुविधाहरु छैनन्। यसलाई अझ सुधार्न आवश्यक छ,’ उनले भने, ‘हामीले अझै पनि १०० किलोवाट मोटर पावर वा १४९८ सिसी इन्जिन भनेर एक्युरेट भन्न सक्दैनौँ। यसले मोटर वा इन्जिनको पावर यति नै हो भनेर ठ्याक्कै भन्न सक्दैन। नेपालभरि नै यो संयन्त्र छैन।’
दक्ष जनशक्ति अभाव
इन्जिनियर श्रेष्ठका अनुसार भएका इक्विपमेन्टहरु पनि चलाउन तालिम प्राप्त जनशक्ति छैनन्। तालिम दिएका मान्छेहरु सरुवा भएर जान्छन्, जसले गर्दा टेक्नोलोजी हस्तान्तरण हुँदैन। मेसिन ल्याउने भेन्डर पनि कन्ट्याक्टमा नहुँदा मर्मतसम्भारमा समस्या भएको उनले बताए। ‘हामीले लोकल्ली मर्मत गराउने कोसिस गरिरहेका छौं, तर अहिले यो पूर्ण रुपमा संचालन गर्न सकिरहेका छैनौं,’ उनले भने।
उनका अनुसार अहिले सवारीसाधन हेरेरै परीक्षण हुन्छ। तर मेसिनले दिने अब्जेक्टिभ रिडिङ ठ्याक्कै एक्युरेट देखाउँदैन।
ब्याट्रीको परीक्षणबारे केही योजनाहरु बनिरहेको श्रेष्ठले बताए। ‘ब्याट्रीको क्षमता नाप्ने लगायतका थप उपकरणहरु जडान गर्नेबारे छलफल भइरहेको छ। हामीले मलेसियाका विज्ञहरूसँग पनि यसबारे छलफल गरेका छौं,’ उनले भने।
मलेसियामा इभी र पेट्रोल गाडीको परीक्षण कसरी हुन्छ भन्ने बारेमा पनि च्यासिस डायनामोमिटरले नै टेस्ट गर्ने गरेको उनले बताए। तर उनीहरुको मुख्य उद्देश्य गाडीले कस्तो पर्फर्म गर्छ भन्ने हेर्ने हो, न कि ठ्याक्कै पावर कति छ भनेर नाप्ने। उनीहरुको रिपोर्टमा विभिन्न परीक्षणपछि आएको म्याक्सिमम पावर उल्लेख गरिएको हुन्छ। हाम्रो पिरियडिक इन्स्पेक्सन खासमा पर्फर्मेन्स टेस्ट हो।