काठमाडौं। नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले भेटेको हो।
नेपालमा नयाँ उद्यमहरूका लागि व्यावसायिक लगानीका सम्भावना बारे बुझ्न आएको टोलीले अवगत गराएको छ। प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे।
आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधैं व्यवसायीसँग सहकार्यमा रहने जानकारी उनले टोलीलाई दिए। प्रतिनिधिमण्डलले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ।
भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो। मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा उक्त प्रतिनिधिमण्डल गत बुधबार काठमाडौं आएको थियो। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा लगायत सहभागी थिए।