काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न कार्यक्रमहरू संचालन गरेको छ।
बैंकको मार्तडी-बाजुरा शाखाले बाजुरास्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल रहेका विधार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको बैंकले जनाएको छ।
त्यस्तै, बैतडीको पाटन नगरपालिका-१ मेल्चौरास्थित सिद्धेश्वर माध्यमिक विद्यालयलाई बैंकले शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। ८ सय जना विद्यार्थी र ३० जना कर्मचारी रहेको उक्त विद्यालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरूबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको बैंकले जानकारी दिएको छ।
त्यसैगरी, बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ। साथै, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरूका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ का लागि बैंकले छात्रवृत्ति वितरण गरेको छ।
साथै, बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ।
त्यसैगरी, प्रहरी वृत मालीगाउँ काठमाडौंलाई बैंकले स्थलगत रुपमा खटिने प्रहरीहरूलाई सहज होस भन्ने उद्देश्यले खानेपानी वितरण गरेको छ।
साथै, रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ। रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि पनि बैंकले आर्थिक सहयोग गरेको छ।