BIZMANDU
www.bizmandu.com

नागरिकता हराउँदा चेक बाउन्सको कसुर ! नखाएको विष लागेपछि प्रहरीकहाँ धाउँदै विलाप

२०८२ असार २०

नागरिकता हराउँदा चेक बाउन्सको कसुर ! नखाएको विष लागेपछि प्रहरीकहाँ धाउँदै विलाप
नागरिकता हराउँदा चेक बाउन्सको कसुर ! नखाएको विष लागेपछि प्रहरीकहाँ धाउँदै विलाप

काठमाडौं। सिन्धुलीका ३५ वर्षीय सन्तोष चालिसे तीन वर्षअघि खाडी मुलुकबाट नेपाल फर्किए। छुट्टीमा आएका उनी केही समय घरपरिवारसँग समय बिताएर पुनः विदेश फर्किदै थिए। तर, जाने प्रक्रिया मिलाउने बेला उनको नागरिकताको प्रमाणपत्र हरायो। धेरै खोजे, भेटेनन्।

Tata
GBIME

नागरिकता नभइ विदेश जाने प्रक्रिया नै रोकिने भयो। उनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रतिलिपिका लागि निवेदन दिए। केही दिनमै प्रतिलिपि हात पनि लाग्यो। उनले प्रक्रिया थाले। श्रमस्वीकृति लगायतका कागजात मिलाए। नागरिकता हराउँदा ठूलो चिन्तामा परेका उनलाई प्रतिलिपी हात पर्दा ठूलो राहत महसुस भएको थियो।

वैदेशिक रोजगारीमा फर्किन तयारी गरिरहेका बेला उनलाई अचानक प्रहरीको फोन आयो। – ‘तपाइँले दिनुभएको चेक बाउन्स भएको रैछ। उजुरी परेको छ। तपाइँ यहाँ आउनुपर्‍यो।’ उनलाई चेक बाउन्स कसुरमा प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो।

सन्तोष अक्क न बक्क भए। किनकि उनले कसैलाई चेक नै दिएका थिएनन्। फोनमा जुन बैंकको चेक दिएको भनिएको थियो त्यसमा उनले खाता पनि खोलेका थिएनन्।

प्रहरी चौकी पुग्दा चेक दिएको भनिएका व्यक्तिलाई पनि उनले चिनेनन्। ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि पीडित पक्ष प्रहरी कहाँ पुगेको थियो। चेक सन्तोषको नाममा रहेको बैंक खाताकै थियो। प्रहरीमा उनले उक्त खाता आफ्नो नभएको दाबी गरे। तर बैंकमा खाता खोल्न प्रयोग भएको नागरिकता उनै सन्तोषको थियो। प्रमाणले सन्तोष नै उक्त चेकमा उल्लिखित खातावाला थिए।

अनेक गर्दा पनि उनले आफ्नो खाता नभएको प्रमाण जुटाउन सकेनन्। अन्ततः प्रहरीले चेक बाउन्सको मुद्दा अदालतमा लग्यो। त्यसपछि सन्तोषलाई एकपछि अर्को समस्याले च्याप्न थाल्यो।

अदालतमा मुद्दा परेका कारण उनी विदेश जानबाट रोकिए।

+++

करिब तीन वर्षपछि उनै सन्तोष बिहीबार प्रहरी कार्यालयमा भेटिए। ‘खाँदै नखाएको विषले मलाई ज्युँदै मार्‍यो, मलाई न्याय दिलाउनु पर्‍यो’ भन्दै प्रहरीमा हारगुहार गर्दै आफ्नो कथा सुनाउँदै थिए।

उनले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए। तर, उनको पक्षमा कागजी प्रमाण देखिएन। चेक दिने व्यक्ति सन्तोष नभएको बोलिदिने कोही भेटेनन्। बैंकमा गरिएको हस्ताक्षरदेखि अन्य प्रमाण समेत भेटिएन वा प्रहरीले खोजेन! उनी तीन वर्षदेखि स्वदेशमा नै मुद्दा खेप्दै घुमिरहेका छन्।

‘म त ठूलो अन्यायमा परेको छु। गाउँ गयो ठग भन्छन्। आफ्नो रोजगारी मात्र गुमेन यहाँ त अरूको पैसा समेत उस्तै परे तिर्नुपर्ने देखियो,’ प्रहरी कार्यालयमा भेटिएका सन्तोषले सुनाए।

उनको नागरिकता प्रयोग गरेर मुक्तिनाथ विकास बैंकमा खाता खोलिएको थियो। जसमा ५ लाख, ९ लाख र २ लाखको चेक काटिसकेर बाउन्स भइसकेको छ। त्यस्तै अन्य ७ वटा चेक बैंकको सिस्टममा काटेको देखिएको सन्तोषले सुनाए।

उनको नाममा खाता खोलेर अरूले नै कसैलाई चेक दिएको हुनसक्ने आशंका प्रहरीको पनि छ। तर, कसले दियो भन्ने खुलेको छैन। सन्तोषले बिहीबार दिनेको  केही जानकारी लिएर आएका रहेछन्। प्रहरीले त्यसैको आधारमा अर्को जाहेरी दिन अनुरोध गर्‍यो। सानो आशा बोकेर सन्तोष निवेदन दिन लागे।

+++

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष मात्र होइन उनी जस्तै दर्जनभन्दा बढी यस्तै प्रकृतिको समस्याले उजुरी दिनेहरू भेटिन्छन्। जसमा सरकारी जागिरे केही व्यक्तिदेखि साना व्यापारीसम्म भेटिन्छन्। हराएको नागरिकता र अन्य कागजपत्रको आधारमा उनीहरूको नाममा बैंक खाता खोलिएका छन्।

पत्रपत्रिकामा दिनहुँ चेक बाउन्स र बैंकिङ कसुरमा सूचना लामो फेहरिस्तसहित आउँछन्। तिनमा केही संख्या सन्तोष परेजस्ता घटनामा परेकाहरुको पनि हुने प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरीले बेला बेला आपराधिक गतिविधिमा यसरी अरूको कागजपत्र प्रयोग गरेर बैंक खाता खोलेका घटना बाहिर ल्याएको समेत देखिन्छ।

विभिन्न घटनामा परेर आउनेलाई प्रहरीले आफ्ना नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र लगायतका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न, मालपोत नामसारी र सनाखतमा प्रयोग हुने सरकारी प्रमाणपत्र सुरक्षित राख्न सम्झाउने गरेको छ। तर, घटनामा परेर आएपछि सम्झाउँदा सन्तोषजस्ता न्यायको गुहार लगाउनेको संख्या घटेको छैन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसी यस्ता उजुरी आउने गरेको बताउँछन्। ‘उहाँको मात्र होइन धेरै यस्ता उजुरीहरु छन्। जहाँ ठगी गर्नेको पहिचान खुल्दैन। कागजपत्रले पीडितलाई नै झन् पीडित देखाएको हुन्छ,’ एसपी जीसीले भने।

के भन्छ राष्ट्र बैंक ?

अरुका कागजपत्र पेस गरेर बैंक खाता खोल्न पाइँदैन। बैंक खाता खोल्न वा कारोबार गर्न सम्बद्ध व्यक्ति नै उपस्थित हुनुपर्छ। खाता अनलाइन खोलेको भए पनि कारोबार थाल्दा बैंकले एक पटक सनाखतका लागि बोलाउनुपर्ने प्रक्रिया छ। आफ्नो खाता पनि अरुलाई चलाउन दिन पाइँदैन। यस्तो प्रावधान हुँदाहुँदै कसरी सम्भव छ अर्काको नामको खाता खोल्न र चलाउन?

नेपाल राष्ट्र बैंकका अधिकारीहरु नियमले वर्जित भए पनि अरूको कागजपत्र प्रयोग गरेर खाता खोलेको र यसबाट सिर्जित समस्या देखिएको स्वीकार गर्छन्। बैंकहरुलाई खाता खोल्दा अधिकतम सतर्कता अपनाउन र ध्यान दिन राष्ट्र बैंकले निर्देशित गरेको प्रवक्ता किरण पण्डित बताउँछन्। अनलाइन खाता खोल्दा पनि लाइभ फोटो र भिडियोको रेकर्ड राख्न जोड दिइएको उनले प्रष्ट पारे।

‘हामीले यसलाई एकदमै ध्यान दिएका छौं। यो हाम्रो छलफल र कार्यान्वयनको विषय पनि बनेको छ। त्यसैले यसमा बैंकका कर्मचारीदेखि सेवाग्राहीले समेत ध्यान दिनुपर्ने देखिन्छ,’ प्रवक्ता पण्डितले भने।

प्रहरीको अनुसन्धानअनुसार बैंकका केही सेवाग्राही भने गिरोहको प्रलोभनमा परेर समेत खाता खोलेर प्रयोग गर्न दिने गरेको पनि देखिएको छ। मोबाइल बैंकिङदेखि खाता नै अरूलाई प्रयोग गर्न दिने गर्छन्। जसले गर्दा खाताको गलत प्रयोग हुँदा लाखौं रुपैयाँ क्षति मात्र होइन सामाजिक प्रतिष्ठामा समेत आघात परेका घटना छन्। यस्ता मामिलामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अधिकतम सतर्कता अपनाउनुपर्ने देखिएको छ।

खातावालले आफ्नो खाता तथा चेक अरुलाई प्रयोग गर्न दिँदा आपराधिक घटना हुँदा कसुरवारसम्म पुग्न प्रहरीलाई गाह्रो पर्ने गरेको छ। अरुकै कागजपत्रमा केही सस्था समेत दर्ता भएका छन्। बदमाशी गरेर फरार भएपछि सन्तोष झैं निर्दोष मानिस पनि पर्ने गरेका छन्। केही लोभले र केही भने अन्जानमा नै यसको भागीदार बन्ने गरेका छन्।