काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा दुरुपयोग भएको आशंका बढेको छ। ब्याजदर आधा सस्तो हुँदा तथा सबैजसो क्षेत्रमा वृद्धि देखिंदा पनि असुलीमा सुधार नभएपछि कर्जा दुरुपयोग भएको आशंका बढेको हो।
बैंक तथा वित्तीय संस्थादेखि नियमनकारी केन्द्रीय बैंकसम्मले नै लागत निक्कै कम भएको अवस्थामा पनि असुलीमा सुधार नदेखिएपछि एउटा क्षेत्रका लागि लिएको ऋण अर्कै क्षेत्रमा प्रयोग गरेको आशंका गरेका छन्।
असुलीमा सुधार हुन नसकेका कारण आफ्नै ब्यालेन्स सिट बिग्रिने राम्रो नहुने भएपछि बैंकहरुले अब कारोबार घटेर क्षमता नभएको हो वा ऋण तिर्ने मनसाय नै नभएको भन्नेमा सूक्ष्मरुपमा हेर्नुपर्ने आवाज उठाउन थालेका छन्।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल असुलीमा सुधार नहुनुले कर्जा दुरुपयोग भएको हुन सक्ने संकेत गरेको बताउँछन्।
‘ऋण लिएको रकम जुन प्रयोजनका लागि लिएको हो, त्यो व्यवसायमा नै फसेको हो भनेर अब चुप बस्ने अवस्था छैन। व्यवसायको अवस्था पनि हेर्नुपर्ने भयो,’ खनालले भने, ‘हामी सबैले गरेको लगानी कुनै न कुनैरुपमा घरजग्गामा डाइभर्ट भएको छ। हामी सबैले धितो लिएर व्यवसाय गर्छौं। धितो भएपछि सुरक्षित ठान्छौं। धितो चलायमान हुनुपर्ने हो। तर, घरजग्गाको कारोबार सुस्त छ।’
तरलता थुप्रिएका कारण लागत कम गर्न बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। पछिल्लो दुई वर्षमा निक्षेपको ब्याजदर आधा घटेर ४.३७ प्रतिशतमा झरेको छ।
२०८० भदौमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ८.०६ प्रतिशत रहेकोमा अहिले त्यसको झण्डै आधारमा झरेको हो। ब्याजदर घटेसँगै बैंकहरूको कस्ट अफ फण्ड (लागत) ४.६० प्रतिशतमा झरेको छ।
कष्ट अफ फण्ड घटेसँगै आधार दर कम हुँदा कर्जासमेत सस्तिँदै आएको छ। अहिले कर्जाको औसत ब्याजदर ८ प्रतिशतमा झरेको छ। कृषि तथा माछापालन क्षेत्रको कर्जाको ब्याजदर साढे ७ प्रतिशतमा झरेको छ। करिब २ वर्षअघि कर्जाको औसत ब्याजदर १३ प्रतिशतमाथि थियो।
बैंकरहरुका अनुसार ऋणको ब्याजदर उच्च दरले घटे पनि कर्जा असुलीमा सुधार देखिएको छैन। राष्ट्रिय वाणिज्य बैंकका सीइओ खनाल ऋण असुलीमा अपेक्षाजनक सुधार हुन नसकेको बताउँछन्।
‘ब्याजदर घट्न थालेसँगै लागत कम भएर सेभिङ हुँदा ऋण तिर्ने क्षमता हुनुपर्ने हो,’ उनले भने, ‘१३ प्रतिशत ब्याजदर एकल अंकमा आएपछि सबै राम्रो हुन्छ भनिन्थ्यो। अहिले ब्याजदर ८ प्रतिशतको वरिपरि आउँदा पनि कर्जाको माग न्यून छ। त्यसमाथि असुलीमा त सुधार हुन सकेकै छैन।’
चैत मसान्तसम्म बैंकहरूको औसत निष्क्रिय कर्जा ५.२४ प्रतिशत छ। ऋण असुलीमा सुधार हुनु नसक्दा बढ्दै गइरहेको खराब कर्जाले पुँजीकोषमा समेत चाप परेको बैंकरहरुको भनाइ छ।
आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न नसकेको जवाफ ऋणीहरूले बैंकलाई दिने गरेका छन्।
सरकारले विकास निर्माणमा विनियोजित रकम खर्च नगरेकाले पनि पैसाको साइकल व्यवस्थित नहुँदा समस्या नसल्टिएको बैंकरहरुको बुझाइ छ।
अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा बैंकहरूमा लगानीयोग्य रकम साढे ७ खर्ब छ। निक्षेप थुप्रिँदा बैंक तथा वित्तीय संस्थाहरूको लागत बढ्छ।
ब्याजदर घटेर लागत कम हुँदा पनि असुलीमा सुधार नहुनुलाई केन्द्रीय बैंकले पनि कर्जा दुरुपयोग भएको रुपमा लिएको छ।
‘अहिले ब्याजदर उच्च दरले घटेको अवस्था छ। ब्याजदर घटेपछि ऋणको खर्च कम हुने र ऋणीले तिर्न सक्ने क्षमता बढ्ने भन्ने सामान्य सिद्धान्त हो,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘गत वर्ष नेगेटिभ ग्रोथ भएका सेक्टरको समेत यो वर्ष ग्रोथ पोजेटिभ देखिएको छ। पोजेटिभ ग्रोथ र ब्याजदर आधा घट्नुले ऋणीको व्यापार व्यवसाय राम्रो हुँदै गएको जनाउँछ। यस्तो बेला साँवा ब्याज तिर्ने क्षमता बढ्नुपर्ने हो। तर, त्यस्तो देखिएको छैन। कर्जा जुन कामका लागि गएको थियो त्यसमा खर्च नगरेर अर्को क्षेत्रमा प्रयोग गरेको देखिन्छ।’
परियोजना र क्यास फ्लो हुने क्षेत्रको कर्जा असुलीमा भने खासै समस्या छैन। चालु आर्थिक वर्ष चैत मसान्तसम्म हाइड्रोपावर क्षेत्रमा निष्क्रिय कर्जा सबैभन्दा कम ०.५० प्रतिशत छ।