BIZMANDU
www.bizmandu.com

साँगा–धुलिखेल सडकखण्डको बिस्तार रोकियो, वर्षायाम नसकिएसम्म काम अगाडि नबढ्ने

२०८२ असार १९

साँगा–धुलिखेल सडकखण्डको बिस्तार रोकियो, वर्षायाम नसकिएसम्म काम अगाडि नबढ्ने
साँगा–धुलिखेल सडकखण्डको बिस्तार रोकियो, वर्षायाम नसकिएसम्म काम अगाडि नबढ्ने

काठमाडौं। अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ। सडक विभागको सूर्यविनायक–धुलिखेल आयोजनाले अब मनसुन बाहिरिएपछि काम अगाडि बढाउने बताएको छ।

Tata
GBIME

यो सडकखण्डको पुलबजारमा स्थानीयको अवरोधका कारण करिब २ सय मिटर क्षेत्रमा काम ठप्प भएको चार महिना भइसकेको छ।

धुलिखेलमा जम्मा एक किलोमिटर मुख्य सडक पक्की गरिएको छ। मनसुनका कारण थप सडक पक्की गरिएको छैन।

सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किलोमिटर सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा बिजुलीका करिब ५० वटा पोल तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको छ।

बनेपाको चण्डेश्वरी खोलादेखि चारदोबाटोसम्म करिब एक किलोमिटर सडकको डल निर्माण कार्य बर्षाका कारण ठप्प भएको छ।

सडक छ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ। आयोजनाले बाँकी छ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको छ।

१६ किलोमिटर लामो सडक विस्तारको काम ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस २४ बाट सुरु गरिएको थियो।

सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएकामा अहिलेसम्म ५० प्रतिशत हाराहारी काम भएको आयोजनाले जनाएको छ।