BIZMANDU
www.bizmandu.com

इप्पानको फ्ल्यागसिप इभेन्ट ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने

२०८२ असार १९

इप्पानको फ्ल्यागसिप इभेन्ट ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने
इप्पानको फ्ल्यागसिप इभेन्ट ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने

काठमाडौं। इप्पानको विशेष कार्यक्रम ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ। ९औँ संस्करणको यो समिटको नारा ‘मिसन २८५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ राखिएको छ।

Tata
GBIME

‘पावर समिट’ इप्पानको फ्ल्यागसिप इभेन्ट हो। समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको यो वर्ष हुन लागेको हो।

सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महसुस गरी यही नाराका साथ समिट आयोजना गर्न लागिएको इप्पानले जनाएको छ। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अर्न्तराष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरूको सहभागितामा समिट हुन लागेको आयोजकले जानकारी दिउको छ।

‘ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरू, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरू, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ,’ इप्पानले भनेको छ।

यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरूको आदानप्रदान गर्ने विश्वास लिइएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, सरकारी संघसंस्थाका उच्च अधिकारीहरू, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाहरू गरी १ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ।

विशेषगरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशहरूको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरू निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार लक्ष्य लिइएको छ। नेपाल र दक्षिण एशियाली मुलुकहरूको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको छ।

समिटमा आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरूको सामनाका लागि नेपाल र अन्य देशहरुले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासहरूको बारेमा समेत छलफल हुनेछ।