BIZMANDU
www.bizmandu.com

एआईमा ठूलो लगानीका बीच माइक्रोसफ्टमा पुनःसंरचना जारी, थप ९ हजार कर्मचारी कटौती गरिने

२०८२ असार १९

एआईमा ठूलो लगानीका बीच माइक्रोसफ्टमा पुनःसंरचना जारी, थप ९ हजार कर्मचारी कटौती गरिने
एआईमा ठूलो लगानीका बीच माइक्रोसफ्टमा पुनःसंरचना जारी, थप ९ हजार कर्मचारी कटौती गरिने

टेक जायन्ट माइक्रोसफ्टले कर्मचारी कटौतीलाई जारी राखेको छ। माइक्रोसफ्टले झण्डै ९ हजार कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको पुष्टि गरेको हो। जुन कम्पनीको कुल २ लाख २८ हजार जना विश्वव्यापी जनशक्तिको झण्डै ४ प्रतिशत बराबर हो।

Tata
GBIME

कम्पनीले कुन-कुन विभागका कर्मचारी कटौती गर्ने भनेर खुलाएको छैन। तर, विभिन्न रिपोर्टहरूका अनुसार एक्सबक्स भिडियो गेमिङ युनिटका कर्मचारी बढी प्रभावित हुनेछन्।

माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई)को विकासमा आफूलाई केन्द्रित गरिरहेको छ। त्यसकै लागि कम्पनीले ठूला डेटासेन्टरहरूमा लगानी गर्दैछ। कम्पनीले हालै ८० अर्ब अमेरिकी डलर खर्च गरेर एआई मोडलहरू ट्रेन गर्न डाटासेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

माइक्रोसफ्टले सन् २०२५ मै यसअघि पनि ३ पटक कर्मचारी कटौती गरिसकेको छ। गत मे महिनामा मात्र कम्पनीले ६ हजार जना कर्मचारी हटाउने घोषणा गरेको थियो।

वाशिङ्टन राज्यको एक डेटाबेसअनुसार कटौती गरिनेमध्ये ८०० भन्दा बढी पदहरू रेडमण्ड र बेलभ्यू क्षेत्रका हुनेछन्। यी दुई स्थान माइक्रोसफ्टको गृहराज्य वाशिङ्टनका महत्त्वपूर्ण केन्द्रहरू हुन्।

कम्पनीका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हामी कम्पनीलाई गतिशील बजारमा सफल बनाउने गरी आवश्यक संगठनात्मक परिवर्तनहरू लागू गरिरहेकै छौं।’

पछिल्ला वर्षहरूमा माइक्रोसफ्ट र अन्य ठूला प्रविधि कम्पनीहरूले आफ्नो ध्यान एआई विकासतर्फ केन्द्रित गरिरहेका छन्। यसै क्रममा कम्पनीले डेटासेन्टर र चिप्स विकासमा ठूलो लगानी गरिरहेको छ।

गत वर्ष कम्पनीले बेलायती एआई प्रवर्तक मुस्तफा सुलेमानलाई नयाँ ‘माइक्रोसफ्ट एआई’ विभागको नेतृत्व गर्न कम्पनीमा भित्र्याएको थियो।

केही समयअघि कम्पनीका एक वरिष्ठ कार्यकारीले भनेका थिए, ‘आउँदो आधा शताब्दीलाई एआईले मौलिक रूपमा परिभाषित गर्नेछ।’

उनका अनुसार यसले हाम्रो काम गर्ने तरिका र एक-अर्कासँग अन्तरक्रिया गर्ने शैलीमा गहिरो परिवर्तन ल्याउनेछ।

माइक्रोसफ्ट ओपनएआई कम्पनीमा प्रमुख लगानीकर्ता र सेयरधनी पनि हो। ओपनएआईले लोकप्रिय च्याटबट ‘च्याटजीपीटी’ निर्माण गरेको हो। यद्यपि, पछिल्लो केही महिनामा दुई कम्पनीबीचको सम्बन्ध केही तनावपूर्ण बनेको रिपोर्टहरू सार्वजनिक भएका छन्।