BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी, वार्षिक १० लाख मुनाफा कमाउन सफल

२०८२ असार १९

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी, वार्षिक १० लाख मुनाफा कमाउन सफल
तस्बिर : रासस।

कैलाली। धनगढी उपमहानगरपालिका-१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आएका छन्। उनले भण्डारी बहुउद्देश्य कृषिफार्म दर्ता गरी विगत ६ वर्षदेखि व्यवसाय गर्दै आएका छन्।

Tata
GBIME

१६ वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगारी गरी घर फर्किएपछि केराखेतीमा लागेका हुन्। उनले कोरोना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गरेका थिए।

‘विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिएँ, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड-१९ को महामारीमा थियो। उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन,’ भण्डारीले भने, ‘गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको हुँ।’

उनले आफ्नो एक बिघा जमिनमा केराखेती गरेका छन्। त्यसबाट वार्षिक १५ लाख रूपैयाँ बराबर केराको कारोबार हुने र १० लाख रूपैयाँ जति फाइदा हुने गरेको भण्डारीले सुनाए।

उनले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताए।

कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी ५ जना छन्। उनले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षा लगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आएको छ।

हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन्।

‘गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु। ५ जनाको परिवारको खर्च यसैबाट टरेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ। यो नै खुसीको कुरा हो।’

भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नम्बर १४ मा हिजोआज १० जना जति कृषकले केराखेती गरिरहेका छन्। यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउबिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उनको भनाइ छ। रासस