काठमाडौं। संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। संवैधानिक इजलासले बुधबार मध्यरातमा रिट खारेज गरेको हो।
न्यायाधीश राय बाझिएर ३-२ ले निर्णय सदर भएको हो।
रिट खारेजसँगै दुई चरणमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति सदर भएको छ। नियुक्त ५२ मध्ये ४९ जना अहिले कार्यरत छन्।
दुई जनाले अवकाश पाउँदा एक जनाको निधन भइसकेको छ।
चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा ३२ र २०७८ असार १० गते २० पदाधिकारी नियुक्त गरेका थिए।
ओलीले दुवै पटक प्रतिनिधि सभा विघटन गरेर संवैधानिक निकायमा नियुक्ति बाँडेका थिए। उनले २०७७ पुस ५ र २०७८ जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेका थिए। जसका कारण उनले संवैधानिक परिषदबाट सिफारिस गरेकाहरुले ४५ दिनपछि नियुक्ति लिएका थिए।
सर्वोच्चले मध्यरातमा गरेको यो फैसलाको थप विवरण आउने क्रममा छ।