काठमाडौं । संवैधानिक निकायमा ४ वर्षअघि गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा ३२ र २०७८ असार १० गते २० पदाधिकारी नियुक्त गरेका थिए।
ओलीले दुवै पटक प्रतिनिधि सभा विघटन गरेर संवैधानिक निकायमा नियुक्ति बाँडेका थिए। उनले २०७७ पुस ५ र २०७८ जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेका थिए। जसका कारण उनले संवैधानिक परिषदबाट सिफारिस गरेकाहरुले ४५ दिनपछि नियुक्ति लिएका थिए।