BIZMANDU
www.bizmandu.com

एसिया कप छनोट: श्रीलंकामाथि नेपालको प्रभावशाली जित, साम्बाको फेरि ह्याट्रिक

२०८२ असार १८

एसिया कप छनोट: श्रीलंकामाथि नेपालको प्रभावशाली जित, साम्बाको फेरि ह्याट्रिक
एसिया कप छनोट: श्रीलंकामाथि नेपालको प्रभावशाली जित, साम्बाको फेरि ह्याट्रिक

काठमाडौं। नेपाली महिला फुटबल टोलीले श्रीलंकालाई हराएको छ। एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज सम्पन्न समूह ‘एफ’ को खेलमा नेपालले श्रीलंकालाई ८-० गोलको फराकिलो अन्तरले हराएको हो।

Tata
GBIME

उज्बेकिस्तानस्थित बुन्योदकर स्टेडियममा सम्पन्न खेलको पहिलो हाफमै नेपालले ४-० गोलको अग्रता लिएको थियो। खेलको १२ औँ मिनेटमा गीता रानाको गोलमा अग्रता बनाएको नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले २०, ४२ र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

दोस्रो हाफमा पनि गीता रानानै गोल थपिन्। उनले ५४ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गर्दा ६२ औँ मिनेटमा निशा थोकर, ७८ औँ मिनेटमा रेखा पौडेल र ८९ औँ मिनेटमा पूजा रानाले गोल गरिन्।

योसँगै लगातार दोस्रो खेलमा नेपालले रवाफिलो जित निकालेको छ। यसअघि नेपालले लाओसलाई ९-० गोलअन्तरले हराएको थियो। यी दुबै खेलमा कप्तानी सम्हालेकी साम्बाले ह्याट्रिक गोल गर्न सफल भइन्।

अर्कोतर्फ श्रीलंका आयोजक उज्बेकिस्तानसँग पहिलो खेलमा १०-० गोलले पराजित भएको थियो। नेपालको अबको खेल उज्बेकिस्तानविरुद्ध हुनेछ। नेपाल रहेको समूहमा सबैभन्दा माथिल्लो वरीयताको टोली हो उज्बेकिस्तान। यो खेलमा पनि जित निकाल्न सके नेपालको एसिया कपमा छनोट हुने सपना पूरा हुनेछ।

उज्बेकिस्तानविरुद्धको खेल शनिबार हुनेछ।