BIZMANDU
www.bizmandu.com

कुलिङ पिरियडबारे खतिवडा र दुरा प्रति कांग्रेस र एमाले गरम, विपक्षी दल नरम

२०८२ असार १८

कुलिङ पिरियडबारे खतिवडा र दुरा प्रति कांग्रेस र एमाले गरम, विपक्षी दल नरम
कुलिङ पिरियडबारे खतिवडा र दुरा प्रति कांग्रेस र एमाले गरम, विपक्षी दल नरम

काठमाडौं । राज्य व्यवस्था समितिमा अहिले सांसदहरुबीच चर्काचर्की परिरहेको छ। कुलिङ पिरियडमा भएको छेडछाडलाई लिएर सांसदहरुले समिति सभापति र सचिवमाथि प्रश्न गरिरहेका छन्।

Tata
GBIME

सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा सांसदहरुले मागेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले सभापति र सचिवको राजीनामा मागिरहेका छन्। रामहरि खतिवडा कांग्रेसबाट सांसद हुन्।

तर, समितिमा रोचक देखिएको दृश्य भने विपक्षी सांसदहरुले सभापतिको राजीनामाले केही समाधान नहुने भन्दै ‘सफ्ट’ धारणा राखेका छन्।

माओवादी, एकीकृत समाजवादी लगायत विपक्षीले राजीनामाले समस्याको समाधान नहुने बताएका हुन्।

एमाले सांसद पदम गिरीले समितिको सहमति विपरीत प्रतिवेदन संसद्मा पेस भएको भन्दै आपत्ति जनाएका छन्। ‘यो संसदीय इतिहासमा लज्जाको विषय हो। यसको मुख्य जिम्मेवार सभापति र सचिव हो,’ उनले भने।

महिनौ दिन लगाएर गरेको निर्णय लत्याएर सहमति विपरीत गरेको उनले आरोप लगाएका छन्। उनले समिति सभापति रामहरि खतिवडाको राजीनामा समेत माग्दै भने, ‘तपाईहरु अब जिम्मेवारीमा रहन मिल्दैन। राजीनामा गरेर छानबिन गर्नु पर्छ। यहाँले नैतिक रूपले सभापति रहन मिल्दैन।’

यता एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने सभापतिको राजीनामाले समस्या हल नहुने बताएका छन्।

‘यसको राम्रो छानबिन गर्न जरुरी छ। पढ्दै नपढ्ने रहेछन् भेडा बाख्रा जस्ता रहेछन् भनेर जनताले भनिरहेका छन्। हामी सारा सांसदको इज्जतमा धब्बा लाग्यो। यसमा धेरै नै मेहनत गरेका थियौं। तर काम लागेन। यसमा जालझेल भयो। सचिवालय, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय यसमा संलग्न छन्। जिम्मेवार सभापति पनि हो। सभापतिले राजीनामा गर्दैमा यो समस्या समाधान हुँदैन। यो सच्याउन पर्छ। सलग्नलाई कारबाही गर्नु पर्छ,’ उनले भने।

बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री नभएको भन्दै राजकुमार गुप्ताले प्रश्न उठाएका थिए। यो विधेयक कानुन मन्त्रालय आएको हो। बैठकमा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ छन्।