काठमाडौं। राज्य व्यवस्था समितिमा कुलिङ पिरियडमा भएको छेडछाड बारे सांसदहरुले विरोध गरेका छन्। एमाले सांसद पदम गिरीले समितिको सहमति विपरीत प्रतिवेदन संसद्मा पेस भएको भन्दै आपत्ति जनाएका छन्।
‘यो संसदीय इतिहासमा लज्जाको विषय हो। यसको मुख्य जिम्मेवार सभापति र सचिव हो,’ उनले भने।
महिनौ दिन लगाएर गरेको निर्णय लत्याएर सहमति विपरीत गरेको उनले आरोप लगाएका छन्। उनले समिति सभापति रामहरि खतिवडाको राजीनामा समेत मागेका छन्।
‘तपाईहरु अब जिम्मेवारीमा रहन मिल्दैन। राजीनामा गरेर छानबिन गर्नु पर्छ। यहाँले नैतिक रूपले सभापति रहन मिल्दैन,’ उनले भने।
यस्तै, सांसद हृदयराम थानीले समिति सभापति खतिवडा र सचिव सरोजकुमार दुराको भूमिकामाथि प्रश्न उठाएका छन्। ‘सभापति र सचिवलाई भन्न चाहन्छु। नमिलेको कुरा ठूलो देखिन्छ। किन ध्यान दिन सक्नु भएन,’ उनले भने
सचिवहरुले कुलिङ पिरियड नराख्न दबाब दिन दिउँसै देउसीभैलो गरेको सबैलाई थाहा भएको भन्दै ठूलो समूहको चलखेलमा समितिले गरेको व्यवस्था हटाइएको उनको आरोप थियो।
संसदीय प्रणालीको के इज्जत रहला? आज तपाईंले संसद्को इज्जत फाल्नु भयो। यो ठट्टा को विषय होइन। यसमा सभापतिले कोर टिम बनाउनु भएको थियो। मलाई थाहा छ। कम्तीमा संसदीय छानबिन समिति गठन गर्नु पर्छ,’ उनले भने।
यस्तै, राजेन्द्र राई र वासुदेव घिमिरेले पनि सभापति र सचिवको राजीनामा मागेका छन्।
दुर्गा राईले यो विषयलाई टुंगोमा पुर्याउनुपर्ने भन्दै राजीनामा दिएर यो विषय समाधान हुन्छ जस्तो नलागेको बताए।
‘माथिबाट सभापति प्रयोग हुनु भएको हो,’ उनले भने।
प्रकाश अधिकारीले कुलिङ पिरियडको व्यवस्था उपसचिव तलको कर्मचारीलाई लाग्ने अरूलाई नलाग्ने खालको भएको बताए। उनले पनि संसदीय छानबिन समितिको माग गरे।
यस्तै, राजेन्द्र पाण्डेले यो त्रुटि हो कि गम्भीर अपराध हो भन्दै प्रश्न गरे।
‘यसको राम्रो छानबिन गर्न जरुरी छ। पढ्दै नपढ्ने रहेछन् भेडा बाख्रा जस्ता रहेछन् भनेर जनताले भनिरहेका छन्। हामी सारा सांसदको इज्जतमा धब्बा लाग्यो। यसमा धेरै नै मेहनत गरेका थियौं। तर काम लागेन। यसमा जालझेल भयो। सचिवालय, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय यसमा संलग्न छन्। जिम्मेवार सभापति पनि हो। सभापतिले राजीनामा गर्दैमा यो समस्या समाधान हुँदैन। यो सच्याउन पर्छ। सलग्नलाई कारबाही गर्नु पर्छ,’ उनले भने।