काठमाडौं। करिब चार महिनादेखि सुस्ताएको सेयर बजार आर्थिक वर्षको अन्तिमतिर विस्तारै उकालो लाग्न थालेको छ।
नेप्से परिसूचक पछिल्लो तीन दिनमा झण्डै ६५ अंकले उकालो लागेको छ। नेप्से मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुग्यो। यसअघि आइतबार २६.५३ र सोमबार ९.१९ अंकले बढेको थियो।
बजारका लागि एकपछि अर्को अनुकूल सूचक हुँदा समेत घटेको नेप्से आर्थिक वर्षको अन्तिमतिर उकालो लाग्न थालेको हो।
गत वर्ष असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरणपछि सेयर बजार डेढ महिनामै ४७ प्रतिशतले उकालो लागेर साउन ३१ गते ३००० विन्दुमा पुगेको थियो। तर, त्यो वृद्धि टिकाउ हुन सकेन। नेप्से असोज १३ गते २४६४ अंकमा आइपुग्यो।
त्यसपछि नेप्से फागुन १८ गते २८९० अंकमा पुगेकामा चैत १२ गते २५८२ विन्दुमा आइपुग्यो। राष्ट्र बैंकले एकपछि अर्को लचिलो व्यवस्था गर्दा पनि माथि जाने बाटो समाउन नसकेको नेप्सेले पछिल्ला दिनमा लगानीकर्तामा आशा जगाएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल बजारप्रति सकारात्मक देखिएकाले आगामी मौद्रिक नीतिमा अप्रत्यासित व्यवस्था हुँदैनन् भन्ने बुझाइको प्रभावस्वरुप बजारले उकालोबाटो लिएको कतिपयको विश्लेषण छ।
‘नियुक्ति भएदेखि नै गभर्नर पौडेलले सेयर बजारमैत्री रहेको सन्देश दिएका छन्। आगामी मौद्रिक नीतिमा बजारलाई प्रतिकूल बनाउने व्यवस्था आउँदैन भन्ने संकेत लगानीकर्ताले पाइसकेका छन्,’ एक लगानीकर्ताले भने, ‘अर्कातिर बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्ने गरी राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ। संस्थाहरुको नाफा बढ्दा त्यसले बजारमा प्रभाव पार्ने भइ नै हाल्यो।’
जेठ पहिलो साता गभर्नर नियुक्त भएका पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जाको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशतमा झारेका छन्।
राष्ट्र बैंकले यस पटक लचिलो मौद्रिक नीति ल्याउने लगानीकर्ताको विश्वास छ। नयाँ आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउनमा जारी गर्दै आएको छ। राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा छ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले विस्तारकारी मौद्रिक नीति ल्याएका बेला २०७८ भदौमा ३१९८ अंकको कीर्तिमानी बनाएको नेप्से त्यसपछि नीतिगत कडाइका कारण ओरालो लागेको थियो। सेयर बजारलाई लक्षित गरी २०७८ मा गरेको नीतिगत कडाइ राष्ट्र बैंकले २०८०/८१ यता निरन्तर खुकुलो बनाइरहेको छ।
बजारले कीर्तिमान कायम गरेको बेलाभन्दा अहिले सूचकहरु अनुकूल छन्। बैंकहरुले एक अंकको ब्याजदरमै कर्जा दिइरहेका छन्। जेठमा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशत छ।
तरलता फालाफाल हुँदा लागत बढ्ने देखेपछि ठूलो आकारको संस्थागत मुद्दती निक्षेप लिन अस्वीकार गरिरहेका बैंकहरुले सेयर धितो कर्जामा ऋण लगानी बढाएका छन्।
यो वर्ष १० महिनामा बैंकहले ३५ अर्ब ४२ करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका छन्। गत असारको तुलनामा यो ३९.३ प्रतिशत धेरै हो। वैशाखसम्म बैंकको सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
लगानीको उपकरण नपाउँदा ठूला संस्थागत लगानीकर्ताका रुपमा रहेका इन्स्योरेन्स कम्पनी र म्युचुअल फण्डले बजारमै लगानी बढाएका छन। राष्ट्र बैंकले एकपछि अर्को नीतिगत ‘फेबर’ गरिरहेको छ।
स्टक ब्रोकर्स एसोसियसनका उपाध्यक्ष नितेशकुमार अग्रवाल बजारले आगामी आर्थिक वर्षका लागि सकारात्मक संकेत देखाएको बताउँछन्।
‘मौद्रिक नीति राम्रै आउँछ कि भन्ने संकेत बजारले गरेको छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। ब्याजदर निकै कम छ। प्रणालीमा थुप्रिएको यो रकम सेयर बजार मात्रै नभएर अर्थतन्त्रका अरु क्षेत्रमा परिचालन भइ अर्थतन्त्रको साइकल चलायमान हुन्छ कि भन्ने हो,’ उनले भने।