काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका केन्द्रीय सदस्य विनोद चौधरीको योग्यतामाथि प्रश्न गरेका छन्।
उनले सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा सुजाता कोइरालासँग दाँज्दै १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित चौधरीको योग्यतामाथि प्रश्न उठाएका हुन्।
कोइरालाले बैठकमा अनुशासनसम्बन्धी ९ प्रश्न सोधे। ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो?’ कोइरालाले भने, ‘सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने ईच्छा व्यक्त गर्नुभयो। १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।’
त्यसैगरी कोइरालाले सप्तरी पुग्दा आफू सहभागी कार्यक्रम देउवा पक्षका नेताहरुले बहिस्कार गरेको गुनासो गरे। ‘२०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा विपी कोइरालाको शालिक अनावरणमा मलाई बोलाइयो। म आफैं प्रमुख अतिथि भएर गएको कार्यक्रममा मेरै समूहका पूर्व मन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरुले मलाई रोक्ने प्रयास गरे। कार्यक्रमभन्दा ठिक पहिले उहाँहरुलाई भेटेर विपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ,’ कोइरालाले भने, ‘तर पनि उहाँहरुले कार्यक्रम बहिष्कार गर्नुभयो। विपी कोइरालाको शालिक अनावरणमा अवरोध गर्नेहरुलाई अनुशासन लाग्ने कि नलाग्ने? ती साथीहरु कस्ता कांग्रेसी? सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन।’
कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको तर सहनशीलतालाई कमजोरी ठानिएको गुनासोसमेत गरे।
‘म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा। म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ,’ कोइरालाले भने, ‘मैले आज बाध्य भएर भनिरहेको छु, पार्टीमा एकता होस्। गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ। सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’
उनले सर्वोच्च अदालतले दोषी ठहर गरेका सर्लाहीका पार्टी सभापतिलाई देउवाले संरक्षण गरेको आरोप लगाए। ‘सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ। के कारणले उहाँलाई हटाइएको छैन?’ शेखरले प्रश्न गरे।
सर्लाहीका कांग्रेस सभापति सुरेेन्द्रप्रसाद सिंह सिंचाई आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतले २०८० फागुन १५ गते नै दोषी ठहर गरेको थियो।
यी हुन् शेखरले सोधेका ९ प्रश्न
१. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ। के आधारमा त्यो कुरा गरियो? सभापतिज्यू यसको जवाफ चाहियो।
२. म आज धेरै सोचेर भन्दैछु। अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरुलाई राख्नुपर्छ। अहिले अनुशासन समितिमा रहनुभएका साथीहरु कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ। तपाईँकाविरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नुहुन्न उहाँहरु। यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन। एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ। कारबाहीमा किन विभेद?
३. पर्सा–१ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो। गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो। कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो। उहाँको २० हजार ९१७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो।गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरुलाई दिइयो?
उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन। मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँनिर छ? यसको पनि जवाफ चाहियो।
४. २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो। फेरि २०८० को उपनिर्वाचन मा तनहुँ–१ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आयो। यो कस्तो राजनीति थियो?
५. अनुशासन समितिको संयोजकले आफूखुसी व्यक्तिगतरुपमा चिठी पठाउनुभएको छ। त्यो अधिकार उहाँलाई कसले दियो? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन? यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो।
६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने ईच्छा व्यक्त गर्नुभयो। १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।
७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ। के कारणले उहाँलाई हटाइएको छैन? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्नुभएको छ?
८. निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो। अहिले अनुशासन कारबाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ।
पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्ररूपले उम्मेदवार बन्नुभयो, उहाँहरु सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु।
९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको विपी कोइरालाको शालिक अनावरण कार्यक्रममा जानुहुँदा, पार्टीका केन्द्रीय सदस्य साथीहरुले नै कार्यक्रम बहिष्कार गर्नुभयो।
२०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा विपी कोइरालाको शालिक अनावरणमा मलाई बोलाइयो। म आफैं प्रमुख अतिथि भएर गएको कार्यक्रममा मेरै समूहका पूर्व मन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरुले मलाई रोक्ने प्रयास गरे। कार्यक्रमभन्दा ठिक पहिले उहाँहरुलाई भेटेर विपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ। तर पनि उहाँहरुले कार्यक्रम बहिष्कार गर्नुभयो। विपी कोइरालाको शालिक अनावरणमा अवरोध गर्नेहरुलाई अनुशासन लाग्ने कि नलाग्ने? ती साथीहरु कस्ता कांग्रेसी? सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन।’