काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दुवै डिस्यान्डर सञ्चालनमा आएको छ। गत असोज १० मा आएको बाढीले दुई डिस्यान्डर (बालुवा थिग्राउने पोखरी) मध्ये दायाँतर्फको डिस्यान्डरमा ठूलो क्षति पुगेको थियो। बाँयातर्फको डिस्यान्डर मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो।
वर्षातको समयमा पानीमा बालुवा धेरै हुने भएकाले एउटा डिस्यान्डर मात्र उपयोग गरेर आयोजना चलाउन सहज हुँदैन। त्यसैले त्यसबेला मध्यनजर गरेर तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले समय तालिका बनाएर नै मर्मत अघि बढाउन आफैं पनि खटिएका थिए।
दायाँतर्फको डिस्यान्डर ठूलो क्षतिका कारण मर्मत कम्पनीले सार्वजनिक खरिद प्रक्रियाअनुसार कम्पनी छनोट गरेर काम गरेका थियो। जेठभित्र नै मर्मत गरिसक्ने लक्ष्य थियो। डिस्यान्डर क्षतिग्रस्त भएको १० महिनापछि सञ्चालनमा आएको हो। माथिल्लो तामाकोसी मुलुककै ठूलो जलविद्युत आयोजना हो।
दुई डिस्यान्डर सञ्चालनमा आएसँगै आयोजनाले अब आरओआर (नदी प्रवाहमा आधारित विद्युत उत्पादन प्रणाली) पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले बताए।
‘दुई वटा डिस्यान्डर सञ्चालनमा आएको छ। हामीले एउटा डिस्यान्डरबाट पनि पिकिङमा पूर्ण क्षमता मै सञ्चालनमा गरिरहेका थियौं। अब दुई वटा डिस्यान्डर सञ्चालनमा आएसँगै आयोजनालाई आरओआरमा पनि पूर्ण क्षमताको सञ्चालन गर्न सुरु भएको छ,’ उनले भने।
आयोजना पूर्ण क्षमतामा चल्न तयार भएसँगै माथिल्लो तामाकोसीबाट आरओआरमा दैनिक ४५० मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको गौतमले जानकारी दिए।
गत असोज १० गते आएको बाढीपहिरो कारण आयोजनामा ठूलो क्षति पुगेको थियो। आयोजना ११५ दिनपछि पिकिङका लागि तयार भएको थियो। आयोजनालाई पुस ९ गते नदी प्रवाहमा आधारित (आरओआर) मोडलमा आंशिक रुपमा संचालनमा ल्याइएको थियो। त्यसको करिब एक महिनापछि माघ ७ गतेदेखि आयोजना पिकिङमा सञ्चालनमा ल्याएको थियो।
पहिरोले सिभिल संरचनामा क्षति पुगेपछि बन्द भएको आयोजना बालुवा थिग्रयाउने पोखरी (डिस्याण्डर) मर्मत गरेर पुस ९ गते संचालनमा ल्याइएको थियो। तर, पिकिङ रन अफ द रिभर (पीओआर) मोडेलमा सञ्चालन हुन सकेको थिएन।
यो आयोजना ४५६ मेगावाट क्षमताको हो। हिउँदमा नदीमा पानीको सतह घटेका कारण विद्युत उत्पादन करिब एक तिहाइमा झर्छ। नेपाल विद्युत प्राधिकरणले तामाकोसीलाई हिउँदको पिक आवरमा चलाउँदै आएको छ।
माग धान्न प्राधिकरणले यो आयोजनालाई पानी जम्मा गरेर विद्युतको माग धेरै हुने समयमा संचालन गर्दै आएको छ। सोहीअनुसार आयोजना पिक आवरमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्दै आएको छ।
कन्ट्रोल भवन निर्माण हुँदै
माथिबाट खसेको पहिरो कारण आयोजनाको कन्ट्रोल भवन पनि पूर्ण रुपमा क्षति भएको थियो। कन्ट्रोल भवन निर्माण गर्न भने अझै बाँकी छ। त्यसको डिजाइनको काम भइरहेको सीइओ गौतममले बताए। ‘अब कन्ट्रोल भवन बनाउन बाँकी छ। त्यसको अहिले डिजाइनको काम भइरहेको छ,’ उनले भने,‘ यस्तै माथिबाट खस्ने ढुंगाबाट आयोजनालाई प्रोटेक्सन गर्ने पनि काम भइरहेको छ।’