काठमाडौं। करिब १ महिनाको अवधिमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि प्रहरी सहायक हवलदारसम्मको पदका २ हजार १ सय ९६ जना बढुवा भएका छन्।
बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ प्रहरी नायव निरीक्षक ६ जना छन्। त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन्।
मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनका लागि १० दिन भित्र बढुवा फाराम भर्न भनेको थियो।
त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवलदार, हवलदार र सहायक हवलदार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो।
बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो।