काठमाडौं। एएफसी वुमन्स एसिया कप क्वालिफायर्समा लाओसविरुद्धको खेलमा कप्तान छनोटमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले अपरिपक्वता प्रदर्शन गरेको छ।
एन्फाले एकै दिन दुई खेलाडीलाई कप्तान घोषणा गरेर आफ्नो अपरिपक्वता र गैरजिम्मेवारी प्रस्तुत गरेको हो। एन्फाले सुरुवाती ११ खेलाडीको सूची सार्वजनिक गर्दा अनुभवी मिडफिल्डर रेनुका नगरकोटीलाई कप्तान घोषणा गरेको थियो।
उनले यसअघि पनि नेपाली टोलीको कप्तानी सम्हालिसकेकी थिइन्।
तर, मैदान प्रवेश गर्ने बेलामा रेनुका कप्तान रहिनन्। एन्फाले सावित्रा भण्डारीलाई कप्तानको जिम्मेवारी दियो।
सावित्रालाई कप्तान बनाएपछि एन्फाले आफ्नो गल्ती ढाकछोपका लागि रेनुकालाई कप्तानको जिम्मेवारी दिएको फेसबुक पोष्ट नै डिलिट गरेको छ।
एएफसी एसिया कप छनोट अन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा अहिले लाओससँग खेलिरहेको छ। पहिलो हाफमा नेपाल २-० गोलले अघि छ। पहिलो गोल १२औँ मिनेटमा अनिता बस्नेत र दोस्रो गोल ४४औँ मिनेटमा सावित्राले गरेका हुन्।