BIZMANDU
www.bizmandu.com

रास्वपाका अर्याल र कांग्रेसका खतिवडाबीच आरोप प्रत्यारोप, अभिव्यक्ति रेकर्डबाट हटाउन माग

२०८२ असार १५

रास्वपाका अर्याल र कांग्रेसका खतिवडाबीच आरोप प्रत्यारोप, अभिव्यक्ति रेकर्डबाट हटाउन माग
रास्वपाका अर्याल र कांग्रेसका खतिवडाबीच आरोप प्रत्यारोप, अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाडौं। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच आरोपप्रत्यारोप चलेकोछ।

Tata
GBIME

प्रतिनिधि सभाको आइतबारको बैठकमा दुवैले एक अर्कालाई आरोपित गर्दै आफूविरुद्ध प्रयोग गरिएका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले रास्वपाका अर्याललाई समय दिएका थिए।

अर्यालले खतिवडालाई लक्षित गरेर अभिव्यक्ति दिए। उनले आफूहरुले भिजिट भिसाका नाममा भएको अवैध असुलीबारे छानबिनको माग गर्दा निराधार आरोप लगाउने काम भएको बताए।

‘संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोशिस गरियो। राजनीतिलाई पेशा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेशा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन्,’ उनले खतिवडालाई लक्षित गर्दै भने, ‘२०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएबापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसद्‍मा छन्। अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान्।’

अर्यालले बोलिरहँदा खतिवडाले नियमापत्ति गर्न खोजेका थिए। तर, सभामुख घिमिरेले खतिवडालाई समय दिएनन्।

खतिवडाले शनिबारको बैठकमा अर्याललाई लक्षित गर्दै ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको कम्पनी हो? विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्‍मा प्रतिनिधित्व गर्ने काम भएको छ। यसको छानबिन आवश्यक छ’ भनेका थिए।

‘हो म गर्वका साथ भन्छु, सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो। मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन। मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं। हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने? होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्छु।’

त्यसपछि सभामुख घिमिरेले खतिवडालाई बोल्न दिए। खतिवडाले अर्यालमाथि छानबिनको कुरा गर्दा ठूलो डाको गरेर संसद्लाई तर्साउन खोजेको आरोप लगाए।

‘हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौं। चोरको खुट्टा काट् भन्दा खुट्टा झिकेजस्तो गरी केही माननीय प्रस्तुत हुनुभयो। आज पनि अनुरोध गर्दछु कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठूलो डाको? ठूलो स्वरमा कराएकार संसद्लाई तर्साउन खोजेकामा आपत्ति छ। यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भर्खरै बोलेका माननीयका शब्द रेकर्डबाट हटाइयोस्,’ उनले भने।

उनले बोलिरहँदा रास्वपाले वेल घेराउ गरिरहेको थियो। खतिवडाले अर्याल श्रममन्त्री भएका बेला पनि बदमासी भएको भन्दै त्यसको पनि छानबिनको माग गरे।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नियमापत्ति गर्दै अर्याल र खतिवडा दुवैबाट असंसदीय भाषा प्रयोग भएको भन्दै उनीहरुको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे। सभामुख घिमिरेले सांसदहरुलाई जिम्मेवारीपूर्वक बोल्न आग्रह गरे।