काठमाडौं । आज असार १५। देशभर आज दही चिउरा खाने पर्वमा देशभर २५ लाख लिटर दहिको कारोबार हुने व्यवसायीले बताएका छन्।
डेरी व्यवसायीहरुले आजकै लागि करिब ५ दिनदेखि दहीको लागि दुध संकलन गरेका थिए। आजको दिनको लागि पर्याप्त मात्रामा दहीको आपूर्ति रहेको डेरी उद्योगका अध्यक्ष राजकुमार दाहालले बताएका छन्।
अन्य समयको भन्दा करिब ५ देखि ७ प्रतिशत बढी दही आज खपत हुने उनले बताए।
आज देशभर करिब २० देखि २५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। योसँगै बजारमा भक्तपुरको जुजु धौ पनिको माग पनि हुने गर्छ।
डेरीहरुमा आज दही पर्याप्त मात्रामा रहेकोले मागेजति दही दिन सक्ने उनले बताए। मौसम राम्रो रहिरहे लक्ष्य अनुसार खपत हुने उनको भनाई छ।
हरेक दिन दैनिक ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ। त्यसको ५० प्रतिशत बजारमा आउने गरेको छ। ७ प्रतिशत दही बनाउन प्रयोग हुने गरेको छ।
असार १५ मा डिडिसिले ६० हजार भन्दा बढी र ठुला डेरी उद्योगले ६० देखि १ लाख लिटर दहि बिक्री गर्ने गरेका पाइएको छ।
हाल बजारमा दही प्रति लिटर १४० रुपैयाँ देखि १६० रुपैयाँ रहेको छ। करिब ३८ करोड रुपैयाँको दहीको कारोबार हुने पाइएको छ।
यो वर्ष बजारमा दुध र दुग्ध जन्य पर्दाथको खपतमा कमी आएकोले व्यवसायीहरुसगँ पर्याप्त स्टक रहेको हो। यतिबेला धुलो दुध र बटरको स्टक पनि पर्याप्त रहेको उद्योगहरुले जनाएको छ।
पछिल्लो समय पर्वलाई मनाउनका लागिनै दही ,चिउरा ,केरा, आपँ र मिठाइ खाने चलन बढ्दै गएको व्यवसायीले बताएका छन्।