BIZMANDU
www.bizmandu.com

तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ रणनीति, अब लामो अवधिको निक्षेपमा ध्यान

२०८२ असार १५

तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ रणनीति, अब लामो अवधिको निक्षेपमा ध्यान
तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ रणनीति, अब लामो अवधिको निक्षेपमा ध्यान

काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम निरन्तर बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले आफूले खिच्ने तरलताको अवधि बढाउन थालेको छ। २१ दिन अवधिको निक्षेप संकलनमार्फत तरलता प्रशोचन गर्ने गरेको राष्ट्र बैंकले प्रणालीमा पैसा बढ्ने क्रम नरोकिएपछि अवधि बढाएर तरलता खिच्न थालेको हो।

Tata
GBIME

तरलता बढ्दै गइरहेकाले ब्याजदर करिडोर तल्लो सीमाभन्दा माथि नै बसोस् भनेर लामो अवधिका लागि निक्षेप खिच्न थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। तरलता निरन्तर बढिरहेको र तीव्र रुपमा नघट्ने प्रक्षेपणसहित ब्याजदर करिडोर तल्लो सीमामा रहोस् भनेर लामो अवधिको निक्षेप तान्न थालेको राष्ट्र बैंकका एक कर्मचारीले बताए।

‘कर्जा प्रवाह ठिकठाकै छ। ब्याजदर घटिरहेको हुँदा उपभोग बढेर कर्जाको माग बढ्न थालेकै अवस्थामा पनि अहिले हामीले खिचिरहेको साढे ४ खर्ब डेढ/दुई खर्बमा आउन टाइम लाग्छ,’ ती कर्मचारीले बिजमाण्डूसँग भने, ‘लिक्विडिटी बढिरहेको छ। अझै बढ्ने आकलनसहित हामीले निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत हाराहारीमा बसोस् भनेर लामो अवधिका लागि तरलता खिच्न थालेका छौं।’

तरलता निरन्तर थुप्रिंदै गएपछि राष्ट्र बैंकले २ महिनाभन्दा बढी अवधिका लागि पैसा तान्न थालेको छ। राष्ट्र बैंकले आइतबार ६३ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि प्रस्ताव मागेको छ।

गत बुधबार ६३ दिने अवधिका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल प्रस्ताव आह्वान गरेकामा ३७ अर्ब ८५ करोडको आवेदन पेस भएको थियो।

यसअघि जेठ २५ गते पहिलोपल्ट ४२ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल प्रस्ताव आह्वान गरिएको थियो।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा साढे ७ खर्ब तरलता थुप्रिएको छ। जसमध्ये बैंकहरुले ३ प्रतिशत ब्याजमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत ४ खर्ब ५६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा पार्क गरेका छन्।

सुस्त कर्जा प्रवाह र बढ्दो रेमिटेन्सका कारण बैंकिङ प्रणालीमा तरलता थपिएको हो। पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरुमा मात्रै २ खर्ब १८ अर्ब रुपैयाँ तरलता थपिएको छ। असार मसान्त नजिकिँदा सरकारी भुक्तानी बढ्ने र बैंक तथा वित्तीय संस्थाहरु समेत ब्यालेन्स सिट राम्रो बनाउन असुलीमा केन्द्रित भएकाले तरलता थप बढ्ने राष्ट्र बैंककै प्रक्षेपण छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा तरलता बढ्ने क्रमलाई हेरेर २ महिनाभन्दा बढी अवधिका लागि तरलता खिच्न थालेको बताउँछन्।

‘चैतपछि तरलता वृद्धिदर धेरै देखिएको छ। तरलता बढेसँगै हामीले बजारबाट खिच्ने भोलुम बढिरहेको छ,’ उनले भने, ‘छोटो अवधिका लागि पैसा पार्क गर्न एसडीएफ सुविधा नै छ। त्यसैले २ महिनाभन्दा बढी अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न थालिएको हो।’