काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनेतर्फ संकेत गरेका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्वमा दाबी गर्ने चर्चा चलिरहँदा पोखरेलले यस्तो बताएका हुन्।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रियसभा सभागृहमा आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरेलले राष्ट्रपति राजनीतिमा आउँदै नआउने भन्ने नभएको बताए।
‘पोलिटिकल मान्छे हो कि होइन। पोलिटिकल मान्छेलाई किन इफ बट भनेको? जिम्मेवारी लिने कुरा सल्लाह गरेर हुन्छ। अनेक खालका कुरा किन गरेको? पोलिटिक्समा रुचि राख्नु हुन्छ, के गर्ने कसो गर्ने अध्यक्षसँग कुराकानी हुन्छ,’ उनले भने।
पोखरेलले प्रष्ट रूपमा उमेर हद र कार्यकालको कुरा उठाएका छन्। उनले उमेर हद र अवधिको कुरा यत्तिकै नराखेको टिप्पणी गरे। तीन दशकको अनुभवपछि यो प्रावधान राखिएको उनले बताए।
पोखरेलले द्वन्द्वलाई विधिसम्मत प्रकट हुन नदिए त्यो विस्फोट हुने कुरा जबजले गरेको बताए। राजनीतिक पार्टीभित्र पनि द्वन्द्व विधिसम्मत प्रकट नभए विद्रोह हुने उनको भनाइ थियो।
‘विधिसम्मत ढंगले प्रकट हुन पाएन भने एक चरणसम्म असन्तुष्टि होला तर एक दिन विस्फोट हुन्छ,’ उनले भने, ‘यदि यसरी बुझिएन भने समस्या हुन्छ।’
जबज नेपाली मोडलको समाजवाद भएको उल्लेख गर्दै पोखरेलले नेपालका सबै पार्टीभन्दा एमाले बढी डेमोक्रेटिक भएको दाबी गरे। एमालेको ‘इन्साइड स्टोरी’ अब सबैले पढ्न र जान्न पाउने उनले बताए।
‘एमाले-माओवादी एकता भएपछि विचारको स्खलित भयो। त्यसपछि लोकतान्त्रीकरण कता हरायो कता। हामी त्यसपछि के भयौँ भयौँ,’ उनले भने।
एमाले सरकारमा भएका बेला नीति कार्यक्रम लागू गर्ने भन्दै उनले पार्टीको लोकतान्त्रिकीकरण कमजोर हुन नदिने भनाइ राखे।
उनी भन्छन्, ‘पार्टी केवल झण्डामा हुँदैन। एमालेभित्र अहिले अलि-अलि छलफल चल्न खोजेको हो। विधान महाधिवेशनको आफ्नै सुप्रिमेसी छ। सचेत कार्यकर्ता सचेत हुन्छन्। यो बोल्न पाइँदैन त्यो बोल्न पाइँदैन भन्न मिल्यो?’
उनले थपे, ‘हामीले भोग्न सम्म भोग्यौँ। हामी बृहत समझदारी गरेर जान्छौँ। छैटौं महाधिवेशनमै लोकतान्त्रीकरण को कुरा गरेको छ। कहाँ तल वितल छ? तल बितल हुन दिन्नौं।’