काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई आफ्नो स्पेन भ्रमणको औपचारिक जानकारी गराएका छन्। संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज स्पेन जाँदैछन्।
जानुअघि उनले वैधानिक व्यवस्थाअनुसार संसद्लाई जानकारी गराएका हुन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको अधिकतम हितका लागि काम गर्ने प्रतिबद्धता जनाए।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन आज साँझ ओली नेपाली टोलीको नेतृत्व गर्दै जाँदैछन्। यसपटक स्पेनको सेभिया सहरमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ।
राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ। नेपाली टोली साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै स्पेनको राजधानी म्याड्रिडमा आइतबार बिहान पुग्ने कार्यक्रम तालिका रहेको जानकारी प्रधानमन्त्री ओलीले संसद्लाई गराए।
‘मेरो नेतृत्वमा जाने हाम्रो भ्रमण टोलीमा २१ जना सहभागी हुनेछौं। यो संख्यामा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत हुनुहुनेछ। परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुनुहुन्छ,’ उनले भने।
नेपाली टोली आइतबार दिउँसो करिब ४ बजे स्पेनको सेभियामा पुग्नेछ। नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ।
साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठक हुनेछ।
असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ।
भ्रमणको तेस्रो दिन सोमबार बिहान उद्घाटन सत्रमा सहभागिता, अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधनका लागि आमन्त्रण गरिएको ओलीले जानकारी गराए।
दिउँसो १ बजे स्तोनियाका राष्ट्रपति महामहिम अलार कारिससँग द्विपक्षीय बैठक छ। दिउँसो ३ बजेदेखि बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
४ बजेपछि तीन वटा द्विपक्षीय बैठक छन्। इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो र संयुक्त राष्ट्रसंघ महासचिव एन्तोनियो गुटरेससँग छुट्टाछुट्टै भेटवार्ता र बैठकको तालिका छ।
चौथो दिन बिहान अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षतासहित ओलीले उद्घाटन मन्तव्य दिनछन्। स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन पनि गर्ने तालिका छ।
सोही दिन नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएसन) उच्चस्तरीय साइड–इभेन्टलाई ओलीले सम्बोधन गर्नेछन्।
अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट छ। त्यसपछि नेपाली टोली फर्कने छ।
संसद्मा यसअघि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन्।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय दिएका थिए। दुवैले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका थिए।
सदनबाट शनिबार ‘आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ र ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ।