BIZMANDU
www.bizmandu.com

एनपीएल : ‘रिटेन र रिलिज’मा व्यस्त फ्रेन्जाइज, पहिलो संस्करणकै आर्थिक पारदर्शितामा प्रश्नैप्रश्न

२०८२ असार १४

एनपीएल : ‘रिटेन र रिलिज’मा व्यस्त फ्रेन्जाइज, पहिलो संस्करणकै आर्थिक पारदर्शितामा प्रश्नैप्रश्न
एनपीएल : ‘रिटेन र रिलिज’मा व्यस्त फ्रेन्जाइज, पहिलो संस्करणकै आर्थिक पारदर्शितामा प्रश्नैप्रश्न

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइजले तयारी सुरु गरेका छन्। क्यानले टिमसँग पटकपटक दोस्रो संस्करणका लागि बैठक गरिरहेको छ भने फ्रेन्चाइजले पनि खेलाडी रिटेन र रिलिज गर्न थालेका छन्।

Tata
GBIME

दोस्रो संस्करणको तयारी अघि बढिरहँदा पहिलो संस्करणकै हिसाबकिताब खोज्दै क्यान कार्यसमिति भित्रै र बाहिर पारदर्शितालाई लिएर प्रश्न उठाउन थालेका छन्। उपाध्यक्ष रोशन सिंहसहित ८ बोर्ड सदस्यहरुले दुई साताअघि अध्यक्ष चतुरबहादुर चन्दलाई नै पत्र लेख्दै पहिलो संस्करणकै पारदर्शिता र जवाफदेहिता मागेका छन्।

क्यानका सचिव पारस खड्काको नाम उल्लेख नगरी उनको कार्यशैलीलाई लिएर उनीहरुले विमति राख्दै पहिलो संस्करणको हिसाबकिताब ‘क्लियर’ गरेरमात्र दोस्रो संस्करणको तयारी अघि बढाउन भनेका छन्।

पहिलो संस्करणमा नेपाली कर्पोरेटलाई समेट्दै एनपीएल आयोजना गरेको क्यानले करिब एक अर्बको ब्राण्ड बनेको चर्चा थियो। क्यानले यसलाई स्वीकार गरेको छैन। तर, अस्वीकार पनि गरेको छैन। पहिलो संस्करणकै पुरस्कारलगायतका विषय नटुंगिएको आरोपमा क्यानले फ्रेन्चाइजसँगको १० वर्षको सम्झौता रहेको र आन्तरिक सहमति भएको भन्दै बदनाम गर्न केही मानिसहरु लागेको आरोप लगाएको छ।

सम्बन्धित समाचार: दोस्रो संस्करणको एनपीएलको तयारी, विदेशी खेलाडी ल्याउने र फ्रेन्चाइजको ‘पेमेन्ट’ बारे के भयो?

यद्यपि, क्यानले एनपीएलको आयव्यय सार्वजनिक गरेको भने छैन। पछिल्लो महिनायता क्यानले एनपीएलको दोस्रो संस्करणका लागि माहोल तयार गर्न जुटेको देखिन्छ।

यता, हिसाबकिताब खोज्दै उपाध्यक्ष सहितका ८ बोर्ड सदस्यले पहिलो संस्करणकै एनपीएलको हिसाबकिताव माग गरेका छन्। यसमा उपाध्यक्ष सिंह र बोर्ड सदस्यहरु प्रदीप मजगैया, दुर्गाराज पाठक, विक्रम बिस्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट छन्।

‘पछिल्लो समय नेपाल प्रिमियर लिग-२ को तयारी भएको देखिएता पनि पहिलो संस्करणकै हिसाबकिताब माग्दासमेत पाउन नसकेकको र हालसम्म हिसाब बोर्डबाट अनुमोनदन नभएको अवगत गराउन चाहन्छौं,’ बोर्डसदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दलाई लेखेको पत्रमा भनिएको छ, ‘संस्थामा अहिले देखिएको एकल निर्णय प्रवृत्ति र केही व्यक्तिको केन्द्रीकृत हस्तक्षेपले संस्थाको विधि विधानसँग मेल खाँदैन।’

एनपीएलका विभिन्न ठेक्का प्रक्रियालगायतलाई लिएर युवा तथा खेलकुद मन्त्रालयदेखि राष्ट्रिय खेलकुद परिषदलगायत नियामक र कार्यदलले अध्ययन गरिहरेका छन्।

यता बोर्ड सदस्यहरुले पनि एनपीएलको दोस्रो संस्करण सुरु हुन लाग्दा जानकारी नभएको दाबी गर्दै पहिलो संस्करणको हिसाबकिताब गरेर दोस्रो संस्करणको तयारी गर्न अध्यक्षलाई आग्रह गरेका हुन्।

क्यानका उपाध्यक्ष रोशन सिंहले बिजमाण्डूसँगको कुराकानीमा क्यानको गभर्निङ काउन्सिल कार्यसमितिप्रति जवाफदेही हुनुपर्ने भन्दै राम्रो काम गरिरहेको भए पारदर्शी हिसाबले गर्नुपर्ने आफ्नो माग भएको बताए।

खेलाडी रिटेन र रिलिजमा फ्रेन्चाइज

एनपीएलका क्लबहरु अहिले खेलाडी रिलिज र रिटेन गर्न जुटेका छन्। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्सजस्ता क्लबहरुले रिलिज र रिटेन गरिएका खेलाडीको सूची पनि सार्वजनिक गरिसकेका छन्।

साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ। त्यस्तै, अर्जुन कुमाल, नरेश बुढाऐर, खडगबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरेको छ।

चितवन राइनोजले कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरेको छ।

लुम्बिनी लायन्सले रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतमलाई रिटेन गरेको छ। लुम्बिनीले रिलिज गरेको खेलाडीमा सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अघ्रि र आरिफ खान छन्।

अन्य क्लबहरु पनि खेलाडी रिटेन र रिलिजको प्रक्रियाको तयारीमा छन्।

लुम्बिनीले रिटेन गरेका खेलाडी। ग्राफिक्स लुम्बिनी लायन्स
सुदूरपश्चिम रोयल्सले रिटेन गरेका खेलाडी। ग्राफिक्स सुदूरपश्चिम रोयल्स