विराटनगर। पूर्वको एक मुख्य व्यावसायिक संस्था उद्योग संगठन मोरङले मुलुकको औद्योगिक क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न औद्योगिक इकोसिस्टमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
संगठनले औद्योगिक इकोसिस्टमको विकासबाट नै उद्योग व्यवसाय सशक्त हुने, व्यावसायिक सहकार्य बलियो बन्ने र दिगो आर्थिक विकास अगि बढ्नसक्ने उल्लेख गर्दै यसका लागि क्रियाशील हुने प्रतिबद्धता प्रकट गरेको हो।
संगठनका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले आफ्नो दुई वर्षे कार्यकालको रणनीति र कार्यक्रम सार्वजनिक गर्दै औद्योगिक इकोसिस्टमको प्रवर्धन र नीतिगत बहसपैरवीलाई तीव्रता दिने बताएका हुन्।
राठीले भने, ‘लगानीको वातावरण निर्माण गर्न र सहज बनाउन नीतिनिर्माणमा पहल, व्यवसाय प्रवर्धनका लागि आवश्यक सेवा प्रदान अनि उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम पनि हाम्रा मुख्य प्राथमिकताका सूचीमा छन्।’
राठीले संगठनले आफ्ना सदस्य प्रतिष्ठानका समस्याको समाधानमा सहजीकरण गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिए। उनले तीन तहकै सरकारका विभिन्न निकायसँग सम्बन्धित प्रक्रियागत विषयसँग सम्बन्धित समस्याको समाधानमा संगठन क्रियाशील हुने स्पष्ट पारे।
‘औद्योगिक प्रतिष्ठानका प्रक्रियागत जटिलतासँग सम्बन्धित विषयको समाधानमा संगठनको बिजनेस क्लिनिकलाई डिजिटल प्रविधिको प्रयोग गर्दै प्रभावकारी संयन्त्रका रूपमा विकास गर्ने योजना छ,’ उनले भने।
राठीले संगठनले साना उद्योगको उत्पादन र ठुला उद्योगको आवश्यकताबीच समन्वय स्थापित गर्न योगदान गर्ने चर्चा पनि गरे।
‘बजारसम्मको पहुँच अभिवृद्धि गर्न विराट बजार बीटुबी प्लेटफर्म संंचालनमा ल्याइनेछ। कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर बीटुबी बैठक आयोजना गरिनेछ। युवा पलायनको विकराल अवस्था र यसले आर्थिक एवम् सामाजिक क्षेत्रमा पारेको प्रभावलाई ठम्याएर युवा र विद्यार्थीलक्षित कार्यक्रमहरू संचालन गरिनेछ’, राठीको कार्यक्रममा भनिएको छ।
कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले शुभकामना प्रकट गरे।