BIZMANDU
www.bizmandu.com

हुम्ला राष्ट्रिय सडक सञ्जालमा केही दिनमा जोडिंदै, छुवा खोलामा पुल निर्माण अन्तिम चरणमा

२०८२ असार १३

हुम्ला राष्ट्रिय सडक सञ्जालमा केही दिनमा जोडिंदै, छुवा खोलामा पुल निर्माण अन्तिम चरणमा
हुम्ला राष्ट्रिय सडक सञ्जालमा केही दिनमा जोडिंदै, छुवा खोलामा पुल निर्माण अन्तिम चरणमा

काठमाडौं। विकट हिमाली जिल्ला हुम्ला केही दिनमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।

Tata
GBIME

छुवा खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको हो। नेपाली सेनाले पुल असारको २०/२१ गतेतिर सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ।

पुल यसअघि असार ११ गते उद्घाटन गर्ने तयारी थियो। तर, समयमा काम सम्पन्न नभएपछि उद्घाटनको समय सारिएको हो।

सिमकोट र खार्पुलाई जोड्ने खार्पुनाथ गाउँपालिका-५ को खार्पुदोभानमा नेपाली सेनाले बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

खार्पुदोभानमा बेलिब्रिज निर्माण गर्ने काम नेपाली सेनाले जेठ १ गतेबाट थालेको थियो।

कर्णाली करिडोर सडक आयोजना सिमकोटका प्रमुख बेलबहादुर नेपालीले पुल निर्माणपछि नेपालगंज र सुर्खेतबाट बाजुरा र कालिकोट हुँदै हुम्ला सदरमुकाम सिमकोट र चीनको सिमाना हिल्सासम्म सीधा यातायात संचालन गर्न बाटो खुल्ने बताए।। हाल सडक कच्ची अवस्थामा छ। तैपनि साना जिप र ६ चक्के गाडीह संचालन गर्न मिल्ने उनले बताए।

‘सडक संचालनमा आएपछि हुम्लाको आर्थिक र सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘पहिले हवाई मार्गमा मात्र निर्भर रहँदा खाद्यान्न र निर्माण सामग्रीको ढुवानी महँगो र कठिन थियो। अब सडक यातायातले सहज बनाउनेछ।’

सरकारले आर्थिक वर्ष २०६३/६४ देखि हरेक वर्ष बजेटमार्फत हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कुरा गर्दै आएको छ।

नेपाली सेनाले बेलिब्रिज निर्माणका साथै सडकका केही अप्ठ्यारो खण्डमा सुधारको काम पनि गरिरहेको छ। यो काम असार महिनाभित्र सम्पन्न हुनेछ। यसपछि सवारीसाधन नियमितरुपमा संचालन हुने नेपालीले बताए।