काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीहरुको विवरण संकलन गर्ने भएको छ। त्यसका लागि ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको छ।
परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा एक समारोहबीच एप सार्वजनिक गरेका छन्।
परराष्ट्रमन्त्री डा. आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एप सार्वजनिक गरेका हुन्।
यो एपबाट संसारभरि रहेका नेपालीको विवरण संकलन गर्न सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ। एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराउनुपर्नेछ। एपमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु छन् भन्ने जानकारी प्राप्त गर्न सहज हुनेछ।
‘विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न अब सहज हुनेछ,’ मन्त्री राणाले भनिन्।
एपलाई सम्बद्ध देशका नेपाली राजदूतावासले अद्यावधिक गर्नेछन्।