BIZMANDU
www.bizmandu.com

युरोपमा टेस्लाको बिक्री मे महिनामा पनि लाग्यो ओरालो, पाँच महिनायता लगातार गिरावट

२०८२ असार १२

युरोपमा टेस्लाको बिक्री मे महिनामा पनि लाग्यो ओरालो, पाँच महिनायता लगातार गिरावट
युरोपमा टेस्लाको बिक्री मे महिनामा पनि लाग्यो ओरालो, पाँच महिनायता लगातार गिरावट

युरोपेलीहरू अझै पनि टेस्ला किन्न अनिच्छुक देखिएका छन्। यु्रोपमा टेस्लाको बिक्री पाँच महिनायता लगातार घटिरहेको छ

Tata
GBIME

मे महिनामा पनि बिक्री घटेपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्। लगानीकर्ताहरूले इलन मस्कप्रति देखिएको आक्रोश अहिले शान्त भइसकेको ठानेका थिए।

युरोपेली अटोमोबाइल निर्माता संघका अनुसार गत महिनाको तुलनामा टेस्लाको बिक्री ३० युरोपेली देशहरूमा २८ प्रतिशतले घटेको छ। तर, त्यही समयमा विद्युतीय सवारी साधनहरूको समग्र बजार भने तीव्र रूपमा बढेको छ।

टेस्लाका लागि यो नतिजा निकै कमजोर मानिएको छ। किनकी मस्कले गत महिना ‘ठूलो पुनरागमन’ गर्ने वाचा गरेका थिए। त्यही वाचाले लगानीकर्ताहरूमा केही समयका लागि उत्साह ल्याएको थियो।

तर, बुधबारको सेयर कारोबारमा उनीहरूले टेस्लाका सेयर बेच्न थालेको देखिएको छ। यसकारण कम्पनीको सेयर मूल्य दिउँसोको सुरुवाती समयमा ४ प्रतिशतभन्दा बढीले घटेको थियो।

मस्कले पहिले नै टेस्लाले आफ्नो सबैभन्दा धेरै बिक्ने मोडेल ‘मोडेल वाई’को नयाँ संस्करण बनाउनका लागि कारखाना पुनः निर्माण गरेपछि बिक्रीमा सुधार आउने आश्वासन दिएका थिए। तर, त्यो काम केही महिनाअघि नै सकिसकेको छ र नयाँ मोडेलहरू बजारमा उपलब्ध छन्। त्यसैले अहिले लगानीकर्ताहरूको आशा अर्को सस्तो टेस्ला मोडेलतर्फ केन्द्रित भएको छ, जुन यो वर्षको अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ।

समग्रमा युरोपमा विद्युतीय सवारी साधनहरूको बिक्री एक वर्ष अघिको तुलनामा २५ प्रतिशतले बढेको छ। विशेष गरी जर्मनीमा विद्युतीय सवारी साधनको बजार निकै बलियो देखिएको छ। तर, त्यहाँ मस्क आफैले टेस्लाको बिक्रीमा बाधा पुर्‍याएका छन्।

मस्कले जर्मनीको निर्वाचनमा अतिवादी दक्षिणपन्थी आप्रवासी विरोधी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’लाई खुला समर्थन गरेका थिए। त्यस कारणले सम्भावित ग्राहकहरूमा आक्रोश पैदा भएको छ। तर पनि जर्मनीमा समग्र इभी बिक्री ४५ प्रतिशतले बढेको छ।

यस महिना चीनको साइक मोटर सबैभन्दा ठूलो विक्रेता बनेको छ। युरोपमा कम्पनीको इभी तथा अन्य प्रकारका सवारीहरूको बिक्री ३८ प्रतिशतले बढेको छ। साइक टेस्लालाई उछिन्न सफल भएको छ। गत वर्ष यतिबेला टेस्लाले युरोपमा धेरै सवारी बेचेको थियो।

मे महिनामा साइकले १८ हजार ७१६ सवारी साधन बिक्री गर्‍यो। जबकि टेस्लाले ८ हजार ७२९ युनिट मात्र बिक्री गर्‍यो।

कम्पनीका लागि निकै संवेदनशील समयमा टेस्लाको बिक्री घटेको हो। किनभने अहिले कम्पनीले अमेरिकाको टेक्सासमा चालकविहीन ‘रोबोट्याक्सी’ सेवा परीक्षण गरिरहेको छ।

मस्कका अनुसार यदि यो सेवा सफल भए छिट्टै अन्य धेरै सहरहरूमा पनि विस्तार गरिनेछ। मस्कले यो वर्षको अन्त्यसम्ममा १० लाख स्वचालित ट्याक्सी सडकमा ल्याउने लक्ष्य लिएका छन्।