BIZMANDU
www.bizmandu.com

स्यानिटरी प्याड र डाइपर निर्यातमा हट्यो अवरोध, भारतले चार उद्योगलाई दियो बीआइएस

२०८२ असार १२

स्यानिटरी प्याड र डाइपर निर्यातमा हट्यो अवरोध, भारतले चार उद्योगलाई दियो बीआइएस
स्यानिटरी प्याड र डाइपर निर्यातमा हट्यो अवरोध, भारतले चार उद्योगलाई दियो बीआइएस

विराटनगर। करिब ३ महिनादेखि रोकिएको स्यानिटरी प्याड र डाइपर भारतमा पुनः निर्यात हुन थालेको छ। भारत सरकारले स्यानिटरी प्याड र डाइपर उत्पादन गर्ने नेपालका ४ वटा उद्योगलाई बीआइएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) प्रदान गरेपछि निर्यातमा अवरोध हटेको हो।

Tata
GBIME

भारतले स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया पूरा गरेपछि ४ उद्योगलाई बीआइएस अनुमति प्रदान गरेको छ।

बीआइएस पाउनेमा मोरङका ३ उद्योग जस्मिन हाइजिन, हेल्थ एन्ड हाइजिन र विराट हेल्थ इन्डस्ट्रिज छन्। त्यस्तै, काठमाडौंको ब्रजेश्वरी उद्योगले पनि बीआइएस पाएको छ।

जस्मिन हाइजिनले प्याड र डाइपर दुवै निर्यात गर्न पाउने गरी बीआइएस पाएको छ। ब्रजेश्वरीले डाइपरका लागि मात्र बीआइएस पाएको छ। विराट हेल्थ र हेल्थ एन्ड हाइजिनले प्याडका लागि मात्र बीआइएस पाएका हुन्।

यसअघि, भारत सरकारले २०८१ चैत १९ सम्म स्यानिटरी प्याड र डाइपरलाई बीआइएस नचाहिने भन्दै खुला गरेकामा चैत २० देखि निर्यात अवरूद्ध थियो।

बीआइएस पाएसँगै स्यानिटरी प्याड र डाइपर निर्यात गर्न थालेको जस्मिन हाइजिनका पुनित शारडाले बताए। ब्रजेश्वरीका सनिम ढकाल र हेल्थ एन्ड हाइजिनका भावेश राठीले पनि निर्यात सुरु गरेको जानकारी दिए।

विराट हेल्थले भने बीआइएस पाएको २ हप्ता बितिसक्दा पनि निर्यात गर्न पाएको छैन। विराट हेल्थका संचालक सरोज खड्काका अनुसार निर्यात हुने वस्तुको ब्रान्ड भारतमा दर्ता गराउनु पर्ने प्रावधानका कारण तत्काल निर्यात हुन नसकेको हो।

उनले ट्रेड मार्कका लागि भारतीय सरकारी निकायमा प्रक्रिया सुरु गरिसकेको बताए। भारतबाट ट्रेक मार्क आउन २ देखि ३ महिना लाग्छ। त्यो बेलासम्म विराट हेल्थले निर्यात गर्ने छैन।

यसअघि, नेपालका सबै उद्योगले लुज प्याकिङमा प्याड निर्यात गर्ने गरेकामा बीआइएस पाएपछि अब ससाना प्याकेटमा बन्द गरिएका वस्तु मात्र पठाउन पाइनेछ। यस्तो प्याकेटमा बुझिने गरी ट्रेड मार्क छापिएको हुनुपर्छ। त्यस्तै उत्पादकको बीआइएस लाइसेन्स नम्बर र बीआइएसको लोगो पनि प्याकेटमा अंकित हुनपर्ने नियम छ।

तर, भारतबाट आयात गर्ने हकमा भने यस्तो नियम लागू भएको छैन। खड्काले भारतबाट भने बोराका बोरा लुज प्याकिङमा प्याड र डाइपर आयात भइरहेको बताए।

‘नेपाल सरकारलाई राजस्व भए पुग्ने रहेछ। आयातित प्याड र डाइपरको गुणस्तर परीक्षण छैन। बोराका बोरा लुज प्याकिङमा आउँछ र यहाँ प्याकिङ गरिन्छ। तर, हामीले चाहिँ बीआइएस लिएर मात्र पुग्दैन। ट्रेडमार्क दर्ता गराएर अनि प्याकिङ समेत गरेर निर्यात गर्नुपर्ने बाध्यता छ,’ उद्योगी खड्काको गुनासो छ।

सीएनआई कोशीका कार्यसमिति सदस्य एवम् हेल्थ हाइजिनका संचालक भावेश राठीले भारतले नेपाली उद्योगलाई बीआइएस अनिवार्य गर्दा नेपालले पनि भारतबाट आउने डाइपर र प्याडमा एनएस अनिवार्य गर्नुपर्ने बताए।

‘व्यवसाय र व्यावसायिक सम्बन्ध दोहोरो हुन्छ। यसअनुसार नेपालले पनि भारतीय प्याड र डाइपरमा एनएस अनिवार्य गर्न आवश्यक छ। अनि मात्र नेपालका उद्योगलाई लगाइएको बीआइएसको प्रावधान सन्तुलनमा आउँछ,’ राठीले भने।

निर्यातभन्दा आयात उच्च

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष १२ करोड ५० लाखको स्यानिटरी प्याड निर्यात भएको छ। जबकि गत आर्थिक वर्ष जेठसम्म ४० करोड रुपैयाँको स्यानिटरी प्याड निर्यात भएको थियो।

त्यस्तै, डाइपर पोहोर ११ महिनामा २८ करोडको निर्यात भएकामा चालु आवमा २१ करोडमा खुम्चिएको छ।

निर्यातभन्दा आयात उच्च छ। चालु आवमा ११ महिनामा भारतबाट ९० करोड ३४ लाखको प्याड र १ अर्ब १ करोड ३४ लाखको डाइपर आयात भएको छ। गत आवको सोही अवधिमा भारतबाट ९० करोडको प्याड र १ अर्ब ४६ करोड २६ लाखको डाइपर भित्रिएको थियो।