BIZMANDU
www.bizmandu.com

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उत्पादन आजबाट सुरु, आइएमई ग्रुपको डेढ अर्ब लगानी

२०८२ असार ११

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उत्पादन आजबाट सुरु, आइएमई ग्रुपको डेढ अर्ब लगानी
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उत्पादन आजबाट सुरु, आइएमई ग्रुपको डेढ अर्ब लगानी

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग संचालनमा आएको छ। आजदेखि एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग संचालनमा आएको हो।

Tata
GBIME

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा सो उद्योगको उदघाटन गरे। त्यसक्रममा उनले उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरुलाई औपचारिक रुपमा सार्वजनिक पनि गरे।

भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताएका थिए। भण्डारीले उद्योगले केवल आयात प्रतिस्थापन मात्र नभइ निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन गर्ने पनि बताए।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरि निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरि नयाँ उद्योग स्थापना गरेको बताए। उद्योग संचालनले देशभित्रै रोजगारी सिर्जना हुने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि बताए।

‘स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको छ,’ उनले भने।

आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्।

उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ। यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ रहेको कम्पनीको दाबी छ।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ। 

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने कम्पनीको विश्वास छ। प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुने पनि कम्पनीले जनाएको छ।

उद्योगमा हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्। ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेको कम्पनीले जनाएको छ।