काठमाडौं । वर्षाका कारण खोलामा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा दैनिक ७०० मेगावाट बिजुली निर्यात गर्न थालेको छ।
मागभन्दा उत्पादन धेरै भएका कारण प्राधिकरणले भारतमा ७०० मेगावाटसम्म र बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको हो। प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकलाई पनि माग अनुसार बिजुली उपलब्ध गराइरहेको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले आन्तरिक उत्पादन बढेर २ हजार ७०० मेगावाट पुगेको छ। यसबाहेक प्राधिकरणले १७ मेगावाट नि:शुल्क बिजुली टनकपुरबाट आयात गरिरहेको छ।
अहिले पिक डिमाण्ड २ हजार मेगावाट र अन्य समयको डिमाण्ड १ हजार ८०० मेगावाट हाराहारी छ।
सुक्खायाममा आन्तरिक उत्पादन घट्दा प्राधिकरणले भारतबाट किन्दा पनि माग धान्न नसकेर औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ गरेको थियो।
प्राधिकरणले केही वर्षयता वर्षायाममा आफूलाई बढी भएको बिजुली भारतलाई बेच्दै आएको छ। बंगलादेशमा पनि गत मंसिरदेखि विद्युत बेच्न थालिएको हो। गत वर्ष बंगलादेशमा एक दिन मात्र विद्युत निर्यात गरिएको थियो।
प्राधिकरणका प्रवक्ता ढकालले अहिले बिजुलीको ‘छेलोखेलो’ रहेको बताए।
‘अहिले हाम्रो उत्पादन २ हजार ७०० मेगावाट पुगेको छ। डिमाण्ड पनि १ हजार ८०० मेगावाट माथि छ। आन्तरिक माग आपूर्ति गरेर बचत भएको बिजुलीमध्ये भारतमा साढे ६ देखि ७०० र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिरहेका छौं,’ उनले भने।
प्राधिकरणले अहिले मागेजति बिजुली दिने बताए पनि उद्योगीहरु भने हौसिएका छैनन्। सिद्धार्थ ग्रुपका निर्देशक राजेशकुमार अग्रवालले वर्षायाम सुरु भएसँगै औद्योगिक क्षेत्रको माग घटेकाले बिजुली पाइन्छ भनेर उत्पादन बढाउने अवस्था नरहेको बताए।
‘हिउँदको समयमा हाम्रो उद्योग चौबिसै घण्टा संचालन गर्नुपर्छ। तर, त्यतिखेर बिजुली पाइँदैन। अहिले हाम्रो उत्पादनको माग नरहेको अवस्थामा बिजुली पाएर के गर्नु?,’ उनले प्रश्न गरे।