BIZMANDU
www.bizmandu.com

बालेनले बोलाएनन् नगर सभा, कानुनले तोकेको दिनमा नआउने भो काठमाडौं महानगरको बजेट

२०८२ असार १०

बालेनले बोलाएनन् नगर सभा, कानुनले तोकेको दिनमा नआउने भो काठमाडौं महानगरको बजेट
बालेनले बोलाएनन् नगर सभा, कानुनले तोकेको दिनमा नआउने भो काठमाडौं महानगरको बजेट

काठमाडौं। कानुनले तोकेको दिनभित्र काठमाडौं महानगरपालिकाको बजेट नआउने निश्चितजस्तै भएको छ।

Tata
GBIME

महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक नबोलाएपछि तोकिएको दिनमा बजेट नआउने निश्चितजस्तै भएको हो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नगर सभाको सूचना जारी नभएको बताए। ‘मेयरले सभा आह्वान गर्नुभएको छैन। अहिलेसम्म कुनै सूचना पनि आएको छैन। यसले गर्दा आज बजेट आउने सम्भावना न्यून छ,’ उनले भने।

अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्छ। असार महिनाभित्र सभाबाट बजेट पारित गर्नुपर्ने व्यवस्था छ।

धेरैजसो स्थानीय तहले बजेट ल्याएका छन्। छ महानगरपालिकामध्ये भरतपुरले असार ८ गते ५ अर्ब १९ करोडको बजेट ल्याएको थियो।

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले तोकिएको समयमा बजेट नल्याउँदा कारबाहीको अधिकार कसैलाई नभए पनि अनुदान कटौती भने हुने बताए। ‘स्थानीय तह आफैं स्वायत्त सरकार भएकाले कानुनले तोकेको समयमा बजेट नल्याए पनि कारबाहीको कुनै व्यवस्था छैन। तर, आगामी वर्ष संघले दिने अनुदानमा भने कटौती हुन्छ। सम्बन्धित स्थानीय तहको कार्यक्षमतामा पनि प्रश्न उठ्छ,’ उनले भने।

काठमाडौं महानगरपालिकाका मेयर साह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग असन्तुष्ट छन्। उनको विषयलाई लिएर महानगरपालिकामा केही महिनाअघि झण्डै झडपको अवस्था निम्तिएको थियो।

प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा मेयर साहले लगाएको ताला उपमेयर सुनिता डंगोलको नेतृत्वमा अन्य जनप्रतिनिधिले फुटाएर गुरागाईंलाई हाजिर गराएका थिए। यही विषयलाई लिएर लामो समयदेखि नगर कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन।