काठमाडौं। नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक यातायातका सवारी साधन गोंगबुको नयाँ बसपार्क बाहिरबाटै चल्ने गरेका छन्। काठमाडौं महानगरपालिका-२६ गोंगबुमा १६१ रोपनी क्षेत्रफलमा बसपार्क भए पनि तीन जिल्लाका बसहरु भने नयाँ बसपार्कनजिकै माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका छन्।
काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ देखि नयाँ बसपार्क सञ्चालनमा ल्याएको हो। सुरुवातभन्दा बसपार्क अहिले पक्की त व्यवस्थित छ। तैपनि कतिपय बस अहिले पनि बसपार्क बाहिरका सडक छेउबाट सञ्चालन हुँदै आएका छन्।
यसअघि गोंगबु चोकदेखि बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट चल्न थालेका छन्। धादिङ, रसुवा र नुवाकोट चल्ने सवारीसाधन भने बसपार्कको साटो माछापोखरी र बालाजु क्षेत्रबाट चल्छन्।
गोंगबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटरको दूरीमा नयाँ बसपार्क सञ्चालनमा छ। तर, केही गाडीहरु चक्रपथ वरपरका सडक छेउबाटै चलेका छन्।
नुवाकोट र रसुवामा चल्ने नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका अध्यक्ष रामहरि श्रेष्ठ बसका यात्रु नयाँ बसपार्कभित्र जान नमान्दा आफूहरुले माछापोखरी सडकबाट गाडी चलाउन बाध्य हुनु परेको बताउँछन्। ‘नयाँ बसपार्कभित्र हाम्रो टिकट काउन्टर छ तर यात्रु बसपार्कभित्र जान मान्दैनन्। माछापोखरी चोकमा आएर बस्छन्। त्यसैले हामीले पनि यहीँबाट बस चलाएका हौं,’ उनले भने।
टिमुरे यातायात कम्पनीका अध्यक्ष प्रकाश जोशीको भनाइ अलि फरक छ। नयाँ बसपार्कभित्र बस सञ्चालनका लागि व्यवस्थित रुपमा काउन्टर नभएका कारण आफूहरुले माछापोखरीको सडकबाट बस चलाउनुपरेको प्रष्टीकरण दिन्छन्। रसुवा, नुवाकोट र धादिङ जाने यात्रुलाई लक्षित गरी हाल नमस्ते पासाङ ल्हामु यातायात कम्पनी, टिमुरे यातायात कम्पनी, नेपाल माइक्रोबस कम्पनी र त्रिशूली यातायात कम्पनीले सेवा प्रदान गर्दै आएका छन्।
यात्रु ओसारपसारका लागि माइक्रोबस र ठूला बसको प्रतिस्पर्धाका कारण पनि नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन सकेका छैनन्। काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरी लामो दूरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्।
चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने गाडीलाई प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको उनले बताए। यातायात कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा झन्डै २० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन्।
महानगरपालिकाका सहायक सूचना अधिकारी धुव्रकुमार काफ्ले लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन पार्किङ नयाँ बसपार्कमै गर्न सकिने बताउँछन्। ‘महानगरपालिकाले एक बसपार्कको नीति लिएको छ। उक्त नीतिमा हामी अडिग छौं,’ उनले भने। अव्यवस्थित रुपमा सञ्चालन भएका सवारीसाधनलाई हटाउन तथा कारबाही गर्नका लागि महानगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरिरहेको उनको भनाइ छ।
‘काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारीसाधन व्यवस्थित ढंगले सञ्चालन हुनुपर्छ। प्रक्रिया बाहिर गएका जो कोहीलाई कारबाही हुन्छ,’ उनले भने। सबै बस र यात्रु बसपार्क भित्रबाट आवतजावत गर्नुपर्ने उनको भनाइ छ।
चक्रपथ वरपर अवैध रुपमा सञ्चालन भएका टिकट काउन्टर महानगरपालिकाले हटाउँदै लगेको उनले बताए। पछिल्लो समय संघीय राजधानी काठमाडौं लगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या बढेको छ। त्यस अनुपातमा सडक विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ। रासस