BIZMANDU
www.bizmandu.com

जापानमाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै नेपाल शीर्षस्थानमा, शुभमको घातक बलिङ

२०८२ असार १०

जापानमाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै नेपाल शीर्षस्थानमा, शुभमको घातक बलिङ
MANTIN, MALAYSIA - JUNE 24: Images during the match between Japan and Nepal during the ACC Men's U16 East Zone Cup 2025 at Kolej Tuanku Ja'afar Oval on June 24, 2025 in Mantin, Malaysia. Photo by Peter Lim for Asian Cricket Council

काठमाडौं। नेपाली यू-१६ क्रिकेट टोलीले जापानमाथि प्रभावशाली जित निकालेको छ। एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको छ।

Tata
GBIME

मलेसियाको क्वालालाम्पुरस्थित कोलेज जाफर ओभलमा टस जितेर जापान पहिले ब्याटिङमा उत्रिएको थियो। नेपालका शुभम खनालले घातक बलिङ गर्दा जापानी टोली ३४.३ ओभरमा अलआउट हुँदै ८० रनमा समेटियो।

चार्ली हाराहिन्जेले सर्वाधिक ३६ र गाब्बी हाराहिन्जेले १३ रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

शुभमले १० ओभर बलिङ गर्दा ३ मेडन राख्दै १५ रन दिएर ५ विकेट लिए। त्यस्तै, अभय यादवले २ तथा विपिन शर्मा र शुशील रावलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि शिवांश बजगाइँले ३८ र प्रसिद्ध जैशी ३३ रनमा अविजित रहे।

बलिङतर्फ केइसेइ कोबायाशीले १ विकेट लिए।

लगातार दोस्रो जित निकालेको नेपाल समूह एको शीर्षस्थानमा उक्लिएको छ। नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई हराएको थियो। यो समूहमा नेपाल, जापान र सिंगापुरका अलावा भुटान र इन्डोनेसिया छन्। नेपालले अर्को खेल २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ।