BIZMANDU
www.bizmandu.com

इरान र इजरायल बीचको युद्धले नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा कस्तो असर गर्ला?

२०८२ असार १०

इरान र इजरायल बीचको युद्धले नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा कस्तो असर गर्ला?
इरान र इजरायल बीचको युद्धले नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा कस्तो असर गर्ला?

काठमाडौं। इरानको सरकारी टेलिभिजनले इरानी संसद्ले आइतबार होर्मुज जलमार्ग बन्द गर्ने योजना पारित गरेको रिपोर्ट गर्‍यो। यो समाचारले खासगरी एसियाली देशहरु बढी तरंगित हुन पुगे।

Tata
GBIME

इरानसँग चीनले सबैभन्दा बढी तेल खरिद गर्छ। भारत, जापान, दक्षिण कोरियालगायत प्रमुख एसियाली देश होर्मुज जलमार्ग भएर आउने कच्चा तेलमा निर्भर छन्। त्यही कारण होर्मुज जलमार्ग बन्द भएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या निम्तिएर विश्व अर्थतन्त्रमै गम्भीर परिणाम निम्तिने जोखिम औंल्याइएको छ। जलमार्ग बन्द गर्ने/नगर्ने अन्तिम निर्णय इरानको राष्ट्रिय सुरक्षा परिषद्ले गरिसकेको छैन।

सोमबार राति इरानले कतार र इराकमा रहेको अमेरिकी एयरबेसमा आक्रमण गरेपछि खाडी क्षेत्र बढी सशंकित बनेको छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण युद्धविरामको सहमति भएको उल्लेख गरेका छन्। इरानले पहिले इजरायलले आक्रमण रोके युद्धविराम हुने जनाएको छ। युद्धविराम भए तेल आपूर्तिमा असर कम हुने विश्वास छ।

नेपालमा के प्रभाव पर्छ?

नेपाल पेट्रोलियम पदार्थमा भारतमा निर्भर छ। देशभित्र खपत हुने पेट्रोलियम पदार्थ शतप्रतिशत नै नेपालले भारतबाट आयात गर्ने गरेको छ।

इरानले इजरायलसँगको युद्धका कारण जलमार्ग बन्द गरेको अवस्थामा भारतमा आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ। जलमार्ग बन्द गर्ने समाचारबाट अहिले भारतसमेत त्रसित बनेको छ। भारतमा क्रुड आयलको ४० प्रतिशत हिस्सा इरानबाट होर्मुज जलमार्ग हुँदै आउने गरेको छ।

के छ निगमको तयारी?

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट भने आपूर्तिमा समस्या नहुने बताउँछन्। ‘मूल्य बढ्ने कुरा अपेक्षित भए पनि आपूर्तिको निरन्तरता मुख्य चिन्ताको विषय हो,’ उनले भने, ‘तर, भारतले पहिला नेपालका लागि कोटा छुट्याएर मात्र आन्तरिक बजारमा बिक्री वितरण गर्ने भएकाले आपूर्तिमा तत्काल समस्या नहुनेमा हामी आश्वस्त छौं।’

आपूर्ति खल्बलिन सक्ने संकेत देखिंदा पनि निगम अहिले नै जोहो गर्न सक्ने अवस्थामा छैन। ‘निगमको हालको इन्धन भण्डारण क्षमताले १०-१२ दिन भन्दा बढीको माग धान्दैन,’ भट्टले भने।

निगमले अहिले मासिक ६०-६५ हजार किलोलिटर पेट्रोल, १ लाख ४० हजारदेखि १ लाख ५० हजार किलोलिटर डिजल, ४८ हजारदेखि ५० हजार मेट्रिक टन एलपी ग्यास र १८ हजारदेखि २० हजार किलोलिटर हवाई इन्धन आयात गर्ने गरेको छ।

निगमका उपनिर्देशक मनोज ठाकुरले निगमको अहिलेको स्टोरेजले पेट्रोल ७ देखि ८ दिन, डिजल १० देखि १२ दिनलाई पुग्ने जानकारी दिए। ‘मट्टितेल करिब एक महिनाका लागि धान्न सक्छौँ। किनभने मट्टितेलको खपतै छैन। हवाई इन्धन १० देखि १२ दिनलाई पुग्ने स्टोरेज छ,’ उनले भने, ‘एलपी ग्यासको हकमा ५९ वटा उद्योगसँग १० हजार मेट्रिक टनको स्टोरेज छ। त्यो भनेको चारदेखि पाँच दिनलाई पुग्ने हो।’

ठाकुरका अनुसार अहिलेसम्म भारतबाट आपूर्ति प्रभावित हुने कुनै सूचना आएको छैन। ‘भारतले फिनिस प्रोडक्ट धेरै राख्दैन। उसले पनि फिनिस प्रोडक्ट ७/८ दिनका लागि राख्छ। किनभने उनीहरुसँग दैनिकरुपमा रिफाइनरी गर्ने मेकानिज्म छ,’ उनले भने।

भारतको निर्भरता कहाँ कहाँ ?

भारत क्रुड आयलमा इरानभन्दा अरब देशहरुमा बढी निर्भर छ। भारतले इरानका अलावा रुस, इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतबाट कच्चा तेल आयात गर्ने गरेको छ।

भारतले इन्धन आपूर्तिको स्रोतलाई विविधीकरण गरे पनि आयातका लागि होर्मुज जलमार्ग पनि प्रयोग गर्दै आएको छ। होर्मुज जलमार्ग इरान र खाडी देशहरुका बीचमा पर्छ।

इरान बाहेकका अन्य देशबाट आयात गरिने कच्चा तेल ल्याउन भारतले होर्मुज जलमार्ग प्रयोग गर्ने गरेकाले त्यो बन्द हुँदा असर पर्ने देखिन्छ। भारतले दैनिक ५.५ मिलियन ब्यारल कच्चा तेल आयात गर्छ, जसमध्ये करिब २ मिलियन ब्यारल होर्मुज जलमार्ग हुँदै आउँछ।

केही विज्ञहरुले भने सो जलमार्ग बन्द भए पनि भारतमा ठूलो असर पर्ने सम्भावना नरहेको बताएका छन्। भारतको प्रमुख ग्यास आपूर्तिकर्ता कतार र भारतले उल्लेख्य मात्रामा तेल आयात गर्ने रसिया दुवैले होर्मुज जलमार्ग प्रयोग गर्दैनन्। रसियाले तेल ढुवानीका लागि स्वेज नहर, केप अफ गुड होप वा प्रशान्त महासागरको मार्ग प्रयोग गर्ने गर्छ।

मूल्य के हुन्छ?

अमेरिकाले इरानका आणविक केन्द्रहरुमा आक्रमण गरेपछि तेलको मूल्य तीव्ररुपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ।

विश्व बजारमा जानेमध्ये करिब २० प्रतिशत तेल होर्मुज जलमार्ग हुँदै आपूर्ति हुने गरेको छ। मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरुले यही जलमार्ग प्रयोग गरेर ऊर्जा आपूर्ति गर्छन्।

यो जलमार्ग बन्द भए तेलको मूल्य अकासिन सक्छ। हाल ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल ७८.८९ डलर पुगेको छ, जुन जनवरीपछि सबैभन्दा उच्च मूल्य हो। यो मूल्य होर्मुज जलमार्ग बन्द भए प्रति ब्यारल १०० डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। त्यसकै असर नेपाली बजारमा पनि पर्नेछ।

निगमका उपनिर्देशक ठाकुरका अनुसार होर्मुज जलमार्ग बन्द भएको अवस्थामा भारतले वैकल्पिक बाटो प्रयोग गर्छ। त्यो भनेको लागत महँगो हुनु हो। यसअघि नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आउँदा प्रति ब्यारल भाउ ६५ डलर थियो। अहिले ७८ डलर पुगिसकेको छ। र अझै बढ्ने आकलन गरिएको छ।