काठमाडौं। तीन दशक नेपाल आयल निगममा बिताएर नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले अनिवार्य अवकाश पाएका छन्।
गोइत २०५२ जेठ १ गते सातौं तहको इन्जिनियरबाट निगममा प्रवेश गरेका थिए। गोइत एघारौं तहको नायब कार्यकारी निर्देशक पदबाट बिदा भएका हुन्। उनले अधिकांश समय निगमको आपूर्ति व्यवस्थापनमा बिताए।
आफ्नो कार्यकालको सबैभन्दा ठूलो सन्तुष्टि पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनु रहेको गोइत बताउँछन्। पछिल्लो १० वर्षमा विशेष कारणबाहेक कहिल्यै पनि आपूर्तिमा व्यवधान खडा हुन आफूले नदिएको उनले बताए। ‘काठमाडौं जस्तो ठाउँमा एक दिन आपूर्ति रोकिँदा त्यसको असर ५ दिनसम्म पर्छ, त्यसैले हामीले भण्डारण क्षमता कम हुँदा पनि टिमवर्कबाट आपूर्ति सहज बनायौं,’ उनले भने।
उनको ठाउँमा अब दीपक बराल आएका छन्। बरालले मेकानिकल इन्जिनियरिङ भारतबाट गरेका हुन् भने स्नातकोत्तर व्यवस्थापन विषयमा जापानबाट गरेका हुन्। विगतमा धनगढी, सिनामंगल, अमलेखगंज र विराटनगर डिपोका प्रमुख भएर काम गरिसकेको अनुभव उनीसँग छ। यस्तै वितरण विभागको प्रमुख भएर काम गरेको अनुभव पनि छ।
वितरण विभागको निर्देशकबाट उनी संस्थागत मामिलामा गएका थिए। संस्थागत मामिलामा इन्जिनियरिङ र गुणस्तर विभाग पर्छ। गत असार ६ गतेबाट मार्केटिङमा उनलाई ल्याइएको हो। यसमा आपूर्ति तथा वितरण र एलपी ग्यास तथा एभिएसन विभाग पर्छ।
यस्तै सुरज शाह वितरण विभागमा आएका छन्। उनी यसअघि आन्तरिक नियन्त्रण अनुगमन विभागमा थिए। साथै पूर्ण रिजाल संस्थागत मामिलामा वितरण विभागबाट निर्देशक नायब कार्यकारी निर्देशक बढुवा भएका छन्।
कसको रोजाइमा आए बराल?
गोइतको स्थानमा निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट पूर्ण रिजाललाई ल्याउन चाहन्थे। तर, उद्योगमन्त्री दामोदर भण्डारीको रोजाइमा भने बराल थिए। स्रोतका अनुसार अमलेखगंज डिपो प्रमुख प्रलयंकर आचार्यको समेत रुचि समेत जोडिएपछि उद्योगमन्त्री भण्डारीले बराललाई ल्याउन भनेका थिए। केही समयदेखि उद्योगमन्त्री भण्डारी र भट्टबीच टसल छ।
तर कार्यकारी निर्देशक भट्ट भने मन्त्रीसँग कुनै विवाद नभएको जिकिर गर्छन्। ‘मन्त्रीज्यूसँग मेरो कुनै विवाद छैन। सरुवामा मन्त्रीज्यूले चासोनै लिनुहुन्न,’ उनले भने, ‘त्यही अनुसार बरालजी र रिजालजी आफैंले यी विभागहरु रोज्नु भएको हो।’