अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई होर्मुजको साँघुरो जलमार्ग बन्द गर्नबाट रोक्न चीनसँग आग्रह गरेका छन्। यो जलमार्ग विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक मार्गहरूमध्येको एक हो।
इरानको सरकारी टेलिभिजनले इरानी संसद्ले होर्मुज जलमार्ग बन्द गर्ने योजना पारित गरेको रिपोर्ट गरेपछि रुबियोले यस्तो आग्रह गरेका हुन्। यद्यपि, जलमार्ग बन्द गर्ने या नगर्ने भन्ने अन्तिम निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को हातमा रहेको पनि उल्लेख गरिएको छ।
तेल आपूर्तिमा आउने कुनै पनि अवरोधले विश्वव्यापी अर्थतन्त्रका लागि गम्भीर परिणाम ल्याउन सक्छ। इरानी तेल विशेषगरी चीनले सबैभन्दा धेरै खरिद गर्दै आएको छ। जसकारण चीनको तेहरानसँग घनिष्ठ सम्बन्ध पनि छ।
अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूड तेलको मूल्य पाँच महिनायताको सबैभन्दा उच्च विन्दुमा पुगेको छ।
रुबियोले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘म चीन सरकारलाई इरानसँग कुरा गर्न आग्रह गर्छु, किनभने उनीहरू तेलका लागि होर्मुज जलमार्गमा अत्यधिक निर्भर छन्।’
उनले थपे, ‘यदि उनीहरूले त्यो जलमार्ग बन्द गरे भने त्यो उनीहरूकै लागि आर्थिक आत्महत्या हुनेछ। हामीसँग त्यो सामना गर्न विकल्पहरू छन्। तर, अन्य देशहरूले पनि यसबारेमा चिन्ता गर्नु पर्छ। यसले हामीलाईभन्दा धेरै अन्य देशका अर्थतन्त्रमा गम्भीर असर पार्छ।’
विश्व बजारसम्म पुग्नेमध्ये करिब २० प्रतिशत तेल आपूर्ति यही होर्मुज जलमार्ग हुँदै जान्छ। मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरूले यही जलमार्ग प्रयोग गरेर ऊर्जा आपूर्ति गर्छन्।
यस जलमार्गको संचालनमा कुनै पनि अवरोध आए तेलको मूल्य आकाशिन सक्छ। हाल ब्रेन्ट क्रूडको मूल्य ७८.८९ डलर प्रति ब्यारेल पुगेको छ, जुन जनवरीपछि सबैभन्दा उच्च मूल्य हो।
एमएसटी फाइनान्सियलका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिक भन्छन्, ‘अमेरिका अहिले इरानको कुनै पनि प्रतिक्रियाको सामना गर्न तयारी अवस्थामा अत्यधिक सैन्य सशक्तिकरणसहित खटिएको छ।’
कच्चा तेलको मूल्यले गाडीको इन्धन खर्चदेखि सुपरमार्केटमा सामानको मूल्यसम्मको निर्धारण गर्छ।
इरानी तेल अन्य देशको तुलनामा चीनले बढी खपत गर्ने गरेको छ। शिप ट्र्याकिङ संस्था भोर्टेक्साका अनुसार चीनले गत महिना प्रति दिन १८ लाख ब्यारेलभन्दा बढी इरानी तेल आयात गरेको थियो।
भारत, जापान र दक्षिण कोरिया लगायत प्रमुख एसियाली देशहरू पनि होर्मुज जलमार्ग भएर आउने कच्चा तेलमा ठूलो निर्भर छन्।
ऊर्जा विश्लेषक वन्दना हरि भन्छिन्, ‘इरानले जलमार्ग बन्द गरे जित्नेभन्दा गुमाउने देशहरू धेरै हुनेछन्। इरानका लागि पनि यस्ता कदमले खाडीमा रहेका तेल तथा ग्यास उत्पादक छिमेकीहरूलाई दुश्मन बन्ने जोखिम हुन्छ। साथै चीनजस्तो मुख्य ग्राहक रिसाउने खतरा पनि छ।’
इजरायल र इरानबीचको द्वन्द्वमा अमेरिकाले पनि प्रत्यक्ष रूपमा भाग लिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानका प्रमुख आणविक स्थलहरूलाई ‘पूर्ण रूपमा नष्ट गरिएको’ दाबी गरेका छन्।
तर, यथार्थमा आणविक स्थलहरूमा कति क्षति भयो भन्ने पुष्टि भएको छैन। संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले अत्यधिक सुरक्षा घेरामा रहेको फोर्डो भूमिगत आणविक केन्द्रमा कति क्षति पुगेको भन्ने मूल्यांकन गर्न नसकेको जनाएको छ। इरानले भने उक्त केन्द्रमा सामान्य क्षति मात्र भएको दाबी गरेको छ।
ट्रम्पले इरानलाई आणविक कार्यक्रम परित्याग नगरे भविष्यमा अझ ‘गम्भीर हमला’ गर्ने चेतावनी दिएका छन्।
सोमबार चीनले अमेरिकाको हमला उसैको विश्वसनीयता घटाउने कदम भएको बताएको छ। साथै, उसले तत्काल युद्धविरामको आह्वान पनि गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत फु कोङले भनेका छन्, ‘सबै पक्षहरूले बल प्रयोग गर्ने आवेगबाट बच्नुपर्छ र आगोमा इन्धन हाल्न बन्द गर्नुपर्छ।’
चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले सम्पादकीयमार्फत भनेको छ, ‘इरानमा अमेरिकी हस्तक्षेपले मध्यपूर्वको अवस्था झनै जटिल र अस्थिर बनाएको छ। यसले द्वन्द्वलाई नियन्त्रणबाहिर लैजाने सम्भावना बढाएको छ।’