काठमाडौं। रामेछापमा गत आइतबार भासिएको तामाकोशी पुल निर्माण कम्पनीले पुनर्निर्माण गर्नुपर्ने भएको छ। पुल निर्माणको ठेक्का सम्झौता डिजाइन एण्ड बिल्ड मोडलमा भएकाले निर्माण कम्पनीले नै जिम्मेवार रहेको पुल सेक्टर काठमाडौंले जनाएको छ।
ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले पुनर्निर्माणको प्रतिबद्धता जनाएको सडक विभाग अन्तर्गतको संघीय सडक सुपेरिवेक्षण तथा अनुगमन कार्यालयको पुल सेक्टरले जानकारी दिएको छ।
तामाकोशी पुल कालिका-कल्पवृक्ष जेभीले निर्माण गरिरहेको हो। कम्पनीसँग २०८२ भदौ ६ गते काम सम्पन्न गर्ने गरी २०७७ भदौ १० गते ठेक्का सम्झौता भएको थियो। २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा पुल बनाउने गरी ठेक्का सम्झौता भएको हो।
निर्माणाधीन पुलका ४ वटा स्पानमध्ये बायाँबाट तेस्रो स्पान कोल्याप्स भएको छ। पुलको स्पान कोल्याप्स भएको दोस्रो पटक हो। यसअघि कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो। पुल २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ।