BIZMANDU
www.bizmandu.com

३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२०८२ असार ९

३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन
तस्बिर : रासस।


म्याग्दी। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ।

GBIME
Tata

तुदी पावर कम्पनी लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरिएको हो।

तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए। अबको १५ दिनमा परीक्षण सकिने उनले बताए।

रघुगङ्गा गाउँपालिका-८ बन्दीमा बाँध र नजिकै १ सय १० मिटर लामो, ८ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ। बाँधबाट ५ किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा-७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए।

विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ ३ सय ६० मिटर छ। विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो। ४ ठाउँबाट सुरुङ खनिएको थियो।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ।

प्रसारण लाइनका ४९ वटा टावर छन्। आयोजनाबाट उत्पादित विद्युत् २ सय २० केभी क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ माध्यमबाट जोडिने भएको छ। चिमखोला-मङ्गले-राहुघाटसहित तुदी पावर नै प्रवर्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ छ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ। चिमखोला-मङ्गले-राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो।

राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २२.३ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन्। रासस