BIZMANDU
www.bizmandu.com

सेयर बजारमा हाइड्रोपावर कम्पनीको दबदबा, यसकारण झुम्मिरहेका छन् लगानीकर्ता

२०८२ असार ८

सेयर बजारमा हाइड्रोपावर कम्पनीको दबदबा, यसकारण झुम्मिरहेका छन् लगानीकर्ता
सेयर बजारमा हाइड्रोपावर कम्पनीको दबदबा, यसकारण झुम्मिरहेका छन् लगानीकर्ता

काठमाडौं। वैशाखमा १० अर्ब रुपैयाँको सेयर किनबेचसहित दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनी एक महिनापछि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा आयो।

Tata
GBIME

जेठमा राधी विद्युत कम्पनीको ११ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भयो। असार दोस्रो सातासम्म आइपुग्दा बजारमा सर्वाधिक सेयर कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीबाट यो कम्पनी कुनै दिन पनि हटेको छैन।

वैशाखमा ङादी ग्रुप पावरको सर्वाधिक ११ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएकामा जेठमा ९ अर्ब ७७ करोड रुपैयाँको किनबेच भयो।

यस्तै जेठमा युनिभर्सल पावर, सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष ५ कम्पनीको सूचीमा रहे।

जेठमा युनिभर्सल पावरको ८ अर्ब ३४ करोड, सानिमा माई हाइड्रोपावरको ५ अर्ब २० करोड र बुटवल पावर कम्पनीको ४ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

हाइड्रोपावरको उच्च सेयर कारोबारले असारमा पनि निरन्तरता पाइरहेको छ। कारोबार मात्रै नभएर सेयर मूल्य बढ्ने कम्पनीहरुमा समेत हाइड्रोपावर नै छन्।

आइतबार नेप्से ३२.९३ अंकले घट्दा जोशी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। सबैभन्दा धेरै कारोबार हुने १३ कम्पनीमा हाइड्रोपावर छन्।

कुनै बेला वित्तीय क्षेत्रको बर्चस्व रहेको बजारमा अहिले निरन्तर हाइड्रो क्षेत्र हाबी भइरहेको छ। वित्तीय क्षेत्रका कम्पनीको संख्या बढेको छैन। मर्जर तथा प्राप्ति नीतिपछि बरु घटेको छ। तर, पुँजी वृद्धिका कारण उनीहरुको वित्तीय आकार भने ठूलो भएको छ।

नेपाल राष्ट्र बैंकले २०७२/७३ मा पुँजी बढाउने नीति लिएपछि बैंकहरुले पुँजी वृद्धिको तुलनामा व्यवसाय विस्तार गर्न सकेनन्।

पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकहरु अहिले व्यवसाय बढाउन नसक्ने अवस्थामा छन्। उनीहरुले लगानी गरेको रकम समेत उठ्न नसक्दा खराब कर्जा बढ्दो छ भने नाफा घटिरहेको छ।

प्रतिफल ओरालो लागेका कारण बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण छैन। बैंकको संस्थापक सेयर १०० रुपैयाँभन्दा कम अंकित मूल्यमा कारोबार भइरहेको छ।

दोस्रो बजारमा कारोबारको शीर्ष सूचीमा बैंकहरु आउनै छोडेको देखिन्छ। वित्तीय क्षेत्रको पर्फमेन्स खस्किएका कारण लगानीकर्ता हाइड्रोपावरतिर आकर्षित देखिएको मर्चेन्ट बैंकरहरु बताउँछन्।

‘हाइड्रोपावरमा अहिले लगानीकर्ताको चार्म छ। वित्तीय क्षेत्रका कम्पनीहरुबाट सर्टटर्म कारोबारीहरुले प्रतिफल पाउन नसक्ने देखिएपछि यतातिर लागेको देखिन्छ,’ एनआईएमबि एस क्यापिटलका डीसीइओ सचिन्द्र ढुंगानाले भने, ‘बैंकहरुको खराब कर्जा बढ्दो छ। प्रतिफल घट्दो छ। कतिपय ओभर क्यापिटलाइज्ड भए। छोटो अवधिको कारोबार गर्नेले नाफा कमाउन खोज्छन्। त्यसैले उनीहरुको रोजाइमा हाइड्रोपावर कम्पनी परेका हुन्।’

चालु आर्थिक वर्ष ११ महिनामा १९ खर्ब १२ अर्ब ६४ करोड ५० लाख रुपैयाँको सेयर कारोबार हुँदा हाइड्रोपावरको सबैभन्दा धेरै ७ खर्ब १३ अर्ब २० करोड रुपैयाँको किनबेच भएको छ। हाइड्रोपावरको सेयर कारोबार २९८ प्रतिशतले बढेको छ।

बजारलाई नजिकबाट नियालिरहेकाहरुका अनुसार, थोरै सेयर संख्या भएका ‘लोक्याप’ हाइड्रोपावर कम्पनीहरुको सेयरको माग बढाएर मूल्य उचाल्ने गरिएको छ।

इन्स्योरेन्समा पनि पुँजी वृद्धिको असर देखिएको छ। नेपाल बीमा प्राधिकरणले २०७८ मा इन्स्योरेन्सको पुँजी साढे दुई गुणाले वृद्धि गर्ने नीति लियो। जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी रुपैयाँ पुर्‍याउन बोनस सेयर र हकप्रद सेयरको सहारा लिइरहेकका छन्।

पुँजी वृद्धिको तुलनामा व्यवसाय विस्तार गर्न नसक्दा बजारमा इन्स्योरेन्स पनि हाइक्यापिटलाइज्ड भएको जानकारहरु विश्लेषण गर्छन्।

‘कम्पनीहरुको पुँजी बढ्दा सेयर संख्या बढेको छ। यसले कम्पनीका वास्तविक सेयरधनीलाई दीर्घकालमा फाइदा नै छ। घाटा छैन। तर, छोटो समयका लागि दोस्रो बजारमा कारोबार गर्नेहरुले प्रतिफल पाउन नसक्ने देखेपछि रणनीति बदलेका हुन्,’ ढुंगानाले भने।  

हाइड्रोपावरले आइपीओ र हकप्रद सेयर निष्कासन गरेर होल्डिङ कम्पनी तथा अर्को आयोजनामा लगानी गर्ने गरिरहेका छन्। लगानी गरेका आयोजनाको लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर मुख्य कम्पनीले उच्च नाफा कमाएको देखिन्छ।

बजारमा लोक्यापसँगै हकप्रद सेयर मूल्य उचाल्ने अस्त्र नै बनेको छ। पछिल्लो समय अधिकांश हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको योजना अगाडि बढाएका छन्।

‘हाइड्रोपावरमा ठूलो लगानी निरन्तर बढिरहेका कारण प्रतिफलको सम्भावना देखेर संस्थागत लगानीकर्ताले नै लगानी बढाइरहेका छन्,’ स्टक ब्रोकर्स एसोसिएसनका महासचिव नितेशकुमार अग्रवालले भने, ‘लगानीकर्ता आकर्षित भएकाले कारोबार र मूल्यमा हाइड्रोपावर क्षेत्र निरन्तर उकालो लागिरहेको हो।’

सेयर बजारमा हाइड्रोपावरको संख्या बढ्दो छ। नेप्सेमा सूचीकृत २७० कम्पनीमध्ये ९१ वटा हाइड्रोपावर हुन्। आइपीओ निष्कासनको पाइपलाइनमा ७४ कम्पनी रहेकामा ३५ वटा हाइड्रोपावर हुन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.४, जलविद्युत् कम्पनीको १५.५, लगानी कम्पनीको ८, व्यापारिक संस्थाको ५.६, उत्पादन तथा प्रशोधन उद्योगको ५.६, होटेलको २.७ र अन्य समूहका कम्पनीको हिस्सा १०.१ प्रतिशत छ।