BIZMANDU
www.bizmandu.com

बजेटबारे कांग्रेस सांसद सुनिल शर्मा : जनताले तिरेको कर तपाइँहरुले अघोषितरुपमा लुट्नुभयो

२०८२ असार ८

बजेटबारे कांग्रेस सांसद सुनिल शर्मा : जनताले तिरेको कर तपाइँहरुले अघोषितरुपमा लुट्नुभयो
बजेटबारे कांग्रेस सांसद सुनिल शर्मा : जनताले तिरेको कर तपाइँहरुले अघोषितरुपमा लुट्नुभयो

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले मन्त्रीहरुमाथि सरकारी ढुकुटीमा अघोषितरुपमा लुट मच्चाएको आरोप लगाएका छन्।

Tata
GBIME

उनले आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलका क्रममा मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र योजना केन्द्रित गरी सरकारी ढुकुटीमा लुट मच्चाएको आरोप लगाएका हुन्।

‘जनताले गाउँ गाउँबाट पसिना पसिना गरेर पठाएको पैसा, पाइपाइ गरेर पठाएको कर भकारीमा आएपछि तपाइँहरुले अघोषितरुपमा लुट्नुभएको छ। यसरी पाइँदैन लुट्न। यो सत्तालाई कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो,’ उनले भने, ‘राज्यसत्तालाई हातमा लिएर, राज्यसत्तामा बसेर, पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट लुट्न पाइँदैन। कर नेपालका सबै नागरिकले तिरेका छन्। हेक्का रहोस् यहाँहरुलाई। अनि भकारीको चाबी लिएर बजेट आफ्ना नेताहरुको क्षेत्रमा मात्र हाल्ने?’

सांसद शर्माले योजना छनोट र बजेट विनियोजनमा मन्त्रीहरु नागरिकप्रति उत्तरदायी हुनुको साटो आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भइ निर्लज्ज बनेको बताए।

पाँच जिल्लावासीमात्र नेपाली नागरिक हुन्? ७२ जिल्लाका मानिस नेपाली होइनन्? तपाइँहरुमा अलिकति हरि छैन? नागरिकप्रति उत्तरदायी हुने तपाइँहरुको हृदय छ कि छैन्?,’ उनले प्रश्न गर्दै भने, ‘सत्तामा बसेर यस्तो निर्ममता। सर्ट पाइन्ट त तपाइँहरुले लाउनुभएको छ, तर निर्लज्ज हुनुहुन्छ। आज तपाइँहरुले गरेको पापको एकदिन हिसाब हुन्छ।’

उनले समन्यायिकरुपमा वितरण गर्ने गरी बजेट संशोधन गरिनुपर्ने भन्दै अन्यथा अर्कोपालि कांग्रेस र एमाले बढारिनेतर्फ सचेत हुन आग्रह गरे। ‘अब यो चार पाँच क्षेत्रमा मात्र रुख र सूर्यमा भोट हाले पुग्ने भो त? अर्कोपालि सदन चलाउन सक्नुहुन्छ?,’ उनले भने, ‘बजेट संशोधन गर्नुपर्छ। बजेट समन्यायिक हुनुपर्छ।’

सांसद शर्माले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) टेक एण्ड पेका आधारमा गर्ने बजेटको व्यवस्थाको चर्को आलोचना गरे।

उनले नेपाली उद्यमीहरुलाई जलविद्युत आयोजनामा हात झिक्न लगाइ विदेशीलाई सुम्पिने योजनाका साथ टेक एण्ड पेको व्यवस्था आएको भन्दै यसलाई कुनै पनि हालतमा सच्याइनुपर्ने बताए।

‘टेक एण्ड पेमा जम्मा दुईवटा एन्सर हुन्छ। बिजुली उत्पादन गर, हामी किन्दैनौं भनेको हो राज्यले। त्यो भनेको के हो भने नेपाली उद्योगीहरु पानीमाथि खोलामाथि तिम्रो अधिकार छैन। तिमीले बिजुली उत्पादन गर्न पाउँदैनौ, तिमी गुडबाइ हामी विदेशीलाई मात्र दिन्छौं भनेको हो,’ उनले भने, ‘कारण के? अन्डर टैबल पैसा आउँछ भनेको हो। होइन भने नेपाली नागरिकले बल्ल बल्ल जलस्रोतमा फड्को मारिरहेका बेला आज तपाइँले कुन ग्राउण्डमा यो भन्नुभयो? असार मसान्तअगाडि तपाइँले परिवर्तन गर्नुपर्छ। टेक एण्ड पे भन्ने, व्यापारीसँग पैसा उठाउने अनि परिवर्तन गर्ने भन्ने हल्ला छ। परिवर्तन गर्न असार मसान्त पछि पुर्‍याइयो भने यो कुरा हामी सदनमा उठाउँछौं।’