मन्थली (रामेछाप)। जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ। मन्थली नगरपालिका-६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो।
यसअघि उक्त पुलको बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो। उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो। मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान पूरै भाँचिएको स्थानीय लेखनाथ ढुंगेलले बताए।
गुणस्तरहीन सामग्री प्रयोग गरेकाले वा अन्य के कारणले यसरी पटक-पटक स्पान भाँचिएको हो भन्ने खोजी हुनेपर्नेमा उनले जोड दिए। भाँचिएको स्पान पूर्ण रूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी दिए। पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीयको घुइँचो लागेको थियो।
आगामी भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी पुलमा काम भइरहेको थियो। निर्माणाधीन उक्त पुल भत्केपछि स्थानीय बासिन्दा चिन्तित छन्।
सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा २२ करोड ५५ लाख ४ हजार रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो। चार वटा स्पानसहित उक्त पुल कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको बनाउनुप्रने डिजाइनमा छ। सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन्।
पुल बनेपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौं आवतजावत गर्न सकिन्छ। सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको छ। पुल भत्किएपछि उक्त रुटबाट आवागमन सहज हुन अझै समय लाग्ने देखिएको छ। रासस