BIZMANDU
www.bizmandu.com

ब्रोकर कम्पनीको पुँजी बढाउने समय डेढ वर्ष थप्ने तयारी, नियमावली संशोधन गरिंदै

२०८२ असार ८

ब्रोकर कम्पनीको पुँजी बढाउने समय डेढ वर्ष थप्ने तयारी, नियमावली संशोधन गरिंदै
ब्रोकर कम्पनीको पुँजी बढाउने समय डेढ वर्ष थप्ने तयारी, नियमावली संशोधन गरिंदै

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरुलाई पुँजी वृद्धिको समय सीमा बढाउने भएको छ। सेबोनले ब्रोकरलाई पुँजी बढाउने अवधि डेढ वर्ष थप्ने गरी नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME

सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनका लागि सञ्चालक समितिबाट पारित गरेर अर्थ मन्त्रालय पठाउने तयारी गरेको हो।

‘ब्रोकरहरुलाई पुँजी वृद्धि गर्न दिएको समय सीमा बढाउने गरी नियमावली संशोधन गर्न सेबोन सञ्चालक समितिले प्रस्ताव पारित गरेको छ। अब अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा पठाउने तयारी छ,’ सेबोन स्रोतले भन्यो, ‘ब्रोकरहरुले यो वर्ष असार मसान्तमसम्म चुक्ता पुँजी कायम गर्न नसकिने बताएपछि डेढ वर्ष थप्न लागिएको हो।’

ब्रोकरहरुले नियमावली संशोधनपछि २०८३ पुस मसान्तसम्म तोकिएको न्यूनतम् पुँजी कायम गर्नुपर्नेछ। सेबोनले २०८२ असारसम्मको म्याद दिएर २०७९ मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।

चुक्ता पुँजी बढाउने अवधि घर्किन लाग्दा ३० वटाले जुटाउन सकेका छैनन्। सेबोनले ब्रोकर कम्पनीलाई पुँजीका आधारमा तीन समूहमा विभाजन गरेको छ। न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ। यस्ता ब्रोकरले सीमित कार्य मात्र गर्न पाउँछन्।

६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्याण्डिङको समेत कारोबार गर्न पाउँछन्। त्यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ पुँजी भएका ब्रोकरले स्टक डिलरको समेत काम गर्न सक्ने व्यवस्था छ।

अहिले दुईवटा स्टक डिलरसहित ब्रोकरको संख्या ९२ छ। सेबोनले २० करोड पुँजी कायम गर्न नसक्ने ब्रोकरका लागि निर्देशिका बनाएर मर्जर तथा प्राप्तिको बाटो खुलाएको छ।

नियमावलीमा मर्जर तथा प्राप्तिमा जान चाहने ब्रोकरले ६ महिनाअघि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएकामा सेबोनले मर्जर निर्देशिका ढिला जारी गरेपछि ब्रोकरहरु असन्तुष्ट छन्। निर्देशिका गत चैतमा जारी गरिएको थियो।

त्यही कारण ब्रोकर कम्पनीहरु मर्जरमा जानका लागि समय थप गर्नुपर्ने लबिङमा छन्।