BIZMANDU
www.bizmandu.com

एक करोडभन्दा बढीका सुनका गहनासहित दुई पक्राउ, पञ्जावबाट बेच्न पोखरामा

२०८२ असार ७

एक करोडभन्दा बढीका सुनका गहनासहित दुई पक्राउ, पञ्जावबाट बेच्न पोखरामा
एक करोडभन्दा बढीका सुनका गहनासहित दुई पक्राउ, पञ्जावबाट बेच्न पोखरामा

पोखरा। बुटवलतर्फ जाँदै गरेको माइक्रोबसबाट पोखरामा प्रहरीले १ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरका सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पञ्जावको अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देहीको तिलोत्तमा-१६ का ४७ वर्षीय रामबहादुर विक छन्।

Tata
GBIME

पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने सूचना प्रहरीलाई आएको थियो। सोही आधारमा पोखरा-२२ पुम्दीभुम्दीमा बुटवलतर्फ जादै गरेको माइक्रोबस रोकेर सिंह र विकका झोला खानतलासी गर्दा सुनका विभिन्न प्रकारका गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सिक्री, माला, औंठी, लकेट, झुम्का, मंगलसुत्र लगायत नौ थरीका गरि करिब ८२ तोलाका गरगहना भेटिँदा उनीहरुले त्यसको वैधता पुष्टि हुने कागजात देखाउन सकेनन्। सिंह तीन वर्षदेखि विकसँग फेसबुकमार्फत साथी रहेको र दुवै जना सुनको गरगहना सम्बन्धी काम गर्नेहरु भएको खुलेको छ।

सिंह पछिल्लो समयमा भारतको यूपी, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियाणा लगायतका स्थानमा सुनका गरगहना बेच्दै हिड्ने गरेका थिए। नेपालमा सुनको मूल्य उच्च भएको थाहा पाएपछि यता आएर बेच्ने योजना बनाएको उनले प्रहरीलाई बताएका छन्। अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट गरगहना लिने गरेका सिंह विकलाई साथमा लिएर गत बुधबार पोखरा आएका थिए। यहाँ कारोबार भएका उनले केही पैसा दिने सर्तमा विक सघाउन बुटवलबाट आएको अनुसन्धानमा खुलेको छ।

दुवैलाई पक्राउ गरेको भोलिपल्ट शनिबार मात्रै प्रहरीले सार्वजनिक गरेको हो। उनीहरुलाई उक्त गरगहनासहित आवश्यक कार्बाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डीएसपी हरिबहादुर बस्नेतले बताएका छन्।