BIZMANDU
www.bizmandu.com

टेस्लाले शांघाइमा ग्रिड साइड ऊर्जा भण्डारण स्टेसन निर्माण गर्ने, ५५६ मिलियन लगानी सम्झौता

२०८२ असार ७

टेस्लाले शांघाइमा ग्रिड साइड ऊर्जा भण्डारण स्टेसन निर्माण गर्ने, ५५६ मिलियन लगानी सम्झौता
टेस्लाले शांघाइमा ग्रिड साइड ऊर्जा भण्डारण स्टेसन निर्माण गर्ने, ५५६ मिलियन लगानी सम्झौता

शांघाइ। अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर शांघाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेसन बनाउने सम्झौता गरेको छ। सम्झौता शुक्रबार भएको हो।

Tata
GBIME

कुल ४ अर्ब युआन (लगभग ५५६ मिलियन अमेरिकी डलर) को लगानीको यो परियोजनाले टेस्लालाई चीनको तीव्रतापूर्वक अघि बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो। यसले चीनको विशाल विद्युत् ग्रिडसँग जोडिने सम्भावना पनि बढाएको छ, जुन संसारकै सबैभन्दा ठूलो विद्युत् ग्रिड हो।

यो गिगावाट-घण्टा स्तरको ऊर्जा भण्डारण स्टेशन चीनको शांघाइको लिङगाङ विशेष क्षेत्र, चिनियाँ अन्तर्राष्ट्रिय मुक्त व्यापार क्षेत्र (पाइलट फ्री ट्रेड जोन) मा निर्माण हुनेछ। यस सम्झौता अनुसार, टेस्ला, लिङगाङ विशेष क्षेत्रको प्रशासनिक समिति, शांघाइको फेंग्सियान जिल्लाको सरकारी निकाय र चिनियाँ काङफु इन्टरनेशनल लीजिङ कम्पनी लिमिटेडले भाग लिएका छन्।

यो टेस्लाको पहिलो ग्रिड साइड ऊर्जा भण्डारण स्टेशन हुने भएकाले यसले चीनको मुख्य भूमिमा स्थापना हुने पहिलो यस्तो परियोजना हो। टेस्लाका चीनका ऊर्जा व्यवसायका महाप्रबन्धक डोंग कुनले भने, ‘यो स्टेसनले एकपटक सञ्चालनमा आएपछि बिजुलीको स्पट ट्रेडिङमा सहभागी भएर स्थानीय ग्रिडमा चरम र कम आवश्यकताहरू बीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले ग्रिडको स्थिरता बढाउँछ।’

यसैबीच, टेस्लाले चीन काङफुसँगको सहकार्यलाई अझ विस्तारित गरी विश्वव्यापी रुपमा शून्य-कार्बन ऊर्जाका उपायमा काम गर्ने योजना बनाएको छ। गत फेब्रुअरीमा टेस्लाको नयाँ मेगा फ्याक्ट्री लिङगाङ विशेष क्षेत्रमा सुरु भएको थियो, जुन यसको दोस्रो प्लान्ट हो र यसले मेगा प्याक ब्याट्री उत्पादन गर्न थालेको छ।

टेस्लाले २०२५ मा ऊर्जा भण्डारणको डिप्लोयमेन्टमा वार्षिक ५० प्रतिशत वृद्धि अपेक्षा गरेको छ।- सिन्ह्वा/रासस